मन्त्री हेरफेरको हल्लाले आफ्ना मन्त्रीलाई कर्मचारीले नटेरेको माधव नेपालको भनाइ

मन्त्री हेरफेरको हल्लाले आफ्ना मन्त्रीलाई कर्मचारीले नटेरेको माधव नेपालको भनाइ


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने जनाएका छन् ।

केही दिनयता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा मन्त्री हेरफेर गर्ने पक्षमा पार्टी नरहेको बताएका हुन् । गलत र नियोजित रुपमा यस्तो हल्ला फिँजाइएको भन्दैउनले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनको भनाइ थियो । उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारमा पनि सत्यता नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीसहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।