माओवादी केन्द्रको रवैयाप्रति महराका स्वकीय सचिव पनि असन्तुष्ट, पार्टी परित्यागको घोषणा

माओवादी केन्द्रको रवैयाप्रति महराका स्वकीय सचिव पनि असन्तुष्ट, पार्टी परित्यागको घोषणा


नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी केन्द्र परित्यागको घोषणा गरेका छन् ।

माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन् ।

‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले लेखेका छन् ।

सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको ठानिएको छ । बताइएअनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए, तर उनलाई सो जिम्मेवारी नदिइ अर्कैलाई सचिव बनाइएपछि उनले पार्टी नै छोड्ने कठोर निर्णय लिएका हुन् ।