आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दान दिने रुसी नोवेलविजेताको घोषणा

आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई दान दिने रुसी नोवेलविजेताको घोषणा


रुसका नोवेल शान्ति पुरस्कारविजेता दिमित्रि मुरेतोभले आफूले पाएको पुरस्कार युक्रेनी शरणार्थीलाई रकम जुटाउन दान गर्ने घोषणा गरेका छन् ।

रुसको नोभाय गजेटा पत्रिकाका प्रधानसम्पादकसमेत रहेको मुरातोभले रुसी हमलापछि १ करोड युक्रेनी आफ्ना घरबाट विस्थापित भएको अवस्थामा सो सहयोग गर्ने निर्णयमा पुगेको बताएका छन् ।

उनी रुसी प्रशासन केन्द्र क्रेमलिनका प्रखर आलोचकका रुपमा चिनिन्छन् ।

त्यसो त आफूले पाएको विश्व चर्चित पुरस्कार लिलामीमा राख्न उनले गत वर्ष नै आह्वान गरेका थिए । ‘यो विश्व–प्रसिद्ध पुरस्कार लिलामीमा राख्न र लिलामी घरहरूलाई जबाफ दिन म अनुरोध गर्छु’, गत वर्ष उनले भनेका थिए ।

रुसी हमलाका कारण दिनहुँ युक्रेन छोडेर छिमेकी मुलुकहरुमा शरण लिनेको संख्या बढ्दो छ । अहिलेसम्म ३० लाख युक्रेनीले देश छोडेर विभिन्न देशमा शरण लिएका छन् ।

त्यस्तै, युद्धकै कारण घर छाड्ने युक्रेनीको संख्या झनै डरलाग्दो छ । राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धका कारण १ करोड युक्रेनीले घर छाडेका छन् ।