एमाले सिध्याउन यस्तो प्रस्ताव

एमाले सिध्याउन यस्तो प्रस्ताव


नेकपा एमालेलाई वडा तहदेखि प्रतिनिधिसभाबाट समेत बढार्न माधवकुमार नेपाल र प्रचण्डले विशेष कार्ययोजना बनाएर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव राखेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

उनीहरूले बनाएको योजना साँच्चै कार्यान्वयन भयो र, परिस्थिति यस्तै रह्यो भने नेकपा एमालेले धेरै ठूलो क्षति ब्यहोर्नुपर्ने हुन्छ । आगामी निर्वाचनहरूलाई आफ्नो पक्षमा उपयोग गर्न काङ्ग्रेससँग भावनाबाहेक कुनै कार्ययोजना नभए पनि प्रचण्ड र माधव नेपालले गृहकार्य गरेर एक प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेको बुझिएको छ ।

प्राप्त समाचारअनुसार नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले स्थानीय तह, प्रदेश र संसदीय निर्वाचनमा एमालेलाई सम्पूर्ण रूपले परास्त गर्ने कार्ययोजना देउवासमक्ष प्रस्तुत गरेका छन् । स्थानीय निर्वाचनमा कुल स्थानको पचास प्रतिशत काङ्ग्रेसलाई र बाँकी पचास प्रतिशतमा सत्ता–गठबन्धनमा सामेल अन्य दलहरूलाई एडजस्त गर्ने प्रस्ताव माधव र प्रचण्डको रहेको बुझिएको छ । जुन पालिकामा सत्ता गठबन्धनको जुन पार्टीका उम्मेदवार बलिया ठहरिन्छन्, तिनैलाई प्रमुख र त्यसपछिका प्रभावी पार्टीलाई उपप्रमुखको उम्मेदवार बनाउने प्रस्ताव दुई कम्युनिष्ट घटकका नेताहरुबाट आएको बताइन्छ ।

त्यस्तै संसदीय निर्वाचनमा प्रतिनिधिसभाका कुल १६५ स्थानमध्ये काङ्ग्रेसले एक सय मात्र लिनुपर्ने र गठबन्धनका अन्य दलहरुले पैंसठ्ठी स्थानलाई भागवण्डा गरेर लिनुपर्ने प्रस्ताव पनि माधव-प्रचण्डको भएको बुझिन्छ । गत संसदीय निर्वाचनमा काङ्ग्रेस र माओवादी विजयी बनेका निर्वाचन क्षेत्रहरूमा सोही पार्टीका उम्मेदवारलाई टिकट दिनुपर्ने र एमालेबाट विजयी भइ अहिले माधव नेपाल पक्षतिर लागेका सांसदहरूलाई नेकपा (एस) को तर्फबाट उम्मेदवार बनाइनुपर्ने प्रस्ताव पनि माधव-प्रचण्डको रहेको बताइएको छ ।

यसरी मिलाएर निर्वाचनमा जाँदा स्थानीय र संसदीय दुवै निर्वाचनमा एमालेको सफाइ हुने विश्वासमा माधव र प्रचण्ड रहेका छन् । उनीहरूको प्रस्तावमा देउवा सहमत भए उक्त प्रस्ताव तत्काल कार्यान्वयनमा आउने छ । तर एमालेलाई सफाया गर्न प्रचण्ड–माधवको कार्ययोजना कति सफल हुने हो, सो भने जिज्ञाशा र प्रतीक्षाको विषय बनेको छ ।