पूर्वमाओवादी लडाकुहरू सामूहिक रूपमा एमाले प्रवेश गर्दै

पूर्वमाओवादी लडाकुहरू सामूहिक रूपमा एमाले प्रवेश गर्दै


बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रुपमा नै युद्धकालीन माओवादी लडाकुहरू अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले तयार भएपछि पूर्वमाओवादी लडाकुको समूह सामुहिक रुपमा नै प्रवेश गर्न लागेका हुन् ।

सम्भवतः यसै साता मिति तय भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्व माओवादी लडाकुहरूलाई सामुहिक रुपमा पार्टी प्रवेश गराउने छन् । ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठयारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन बिष्टले भने, ‘त्यसैले दुवै पक्षबीच सामूहिक पार्टी प्रवेशको मिति चाँडै तोक्ने भन्ने छ ।’

उनका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओली र बिष्टबीच पूर्व माओवादी लडाकुका माग र मुद्दाका बारेमा तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि बिष्टको टोलीले पटक पटक छलफल गरेको थियो ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ बिष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।