देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध भएको अध्यक्ष ओलीको प्रष्टोक्ति

देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध भएको अध्यक्ष ओलीको प्रष्टोक्ति


नेपालको लोकतान्त्रिक आन्दोलनमा एमाले मुख्य शक्ति भएको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति एमाले भएको दाबी गरेका छन् ।

एमालेको बुधबारको केन्द्रीय कमिटि बैठकमा बोल्दै उनले एमालेको विषयमा गलत प्रचार भएको जनाए ।

‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’

‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वास, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसाबले हामी प्रमुख पार्टी हौं,’ उनले भने ।

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्‍याउने अभिभारा समेत रहेको उनले बताए । अध्यक्ष ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको उनको भनाइ थियो ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै उनले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने धारणा राखे ।

पार्टीको यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले त्यसको तयारीका लागि जनपरिचालन, सङ्गठनात्मक र अन्य कामका बारेमा निर्णय गर्ने उल्लेख गर्दै उनले एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको र यसबारे कुनै भ्रम नपाल्न आग्रह गरे ।

ज्ञातव्य छ, स्थानीय तहको आशन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको बताइएको छ । बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठक बिहीबारसम्म चल्नेछ ।