आठौं प्रधानमन्त्री कप महिला भलिबलको तयारी सकियो, सात टिमबीच प्रतिस्पर्धा हुने

आठौं प्रधानमन्त्री कप महिला भलिबलको तयारी सकियो, सात टिमबीच प्रतिस्पर्धा हुने



प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सर्वाधिक पुरस्कार राशिको मोफसलको सो प्रतियोगितामा नेपाल-भारतका विभिन्न सात टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिए । उनले यसपटकको प्रतियोगिता कोभिड-१९ को संक्रमणका कारणले निर्धारित समय भन्दा केही ढिलो सुरु हुन लागेको बताए ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हुने भएको हो । प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रूपमा विकास गर्ने हाम्रो प्रयास भएको सो प्रतियोगिताको मुलआयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले जानकारी दिइन् ।

उनले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रूपमा प्रधानमन्त्री कप महिला भलिबललाई स्थापित गराउने लक्ष्य रहेको दाबी गरिन् ।

प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहने छ । लिगमा नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाणा स्पोर्ट्स क्लब रहेका छन् ।

नेपाली भलिबलको सर्वाधिक धनराशिको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख उपविजेताले २ लाख पचास हजार तेस्रोले १ लाख र चौथो हुने टोलीले ५० हजार नगद सहित पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । सोही अवसरमा प्रतियोगिताको लागि टिसर्टको लोकार्पण समेत गरिएको छ ।