चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल


चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।

तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमका अनुसार तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको छ ।

शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमको भनाइ छ । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।