चितवन पुगेर प्रचण्डले भने- चितवन कांग्रेसले भन्दैमा गठबन्धन तोडिँदैन !

चितवन पुगेर प्रचण्डले भने- चितवन कांग्रेसले भन्दैमा गठबन्धन तोडिँदैन !


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आगामी तीन तहकै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने जिकिर गरेका हुन् । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने उनको तर्क छ ।

‘गठबन्धन त भइरहेकै छ नि, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भनेका छन् । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले चितवन कांग्रेसले भनेर केही नहुने जवाफ दिए ।

प्रचण्डको यस अभिव्यक्तिप्रति चितवनका कांग्रेस कार्यकर्ताले कस्तो प्रतिक्रिया जनाउने हुन्, प्रतीक्षाको विषय बनेको छ ।

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन पुगेका हुन् । उनी भोलि शुक्रबार काठमाडौं फर्कने बताइएको छ ।