कुलमान घिसिङले भने- ‘लोडसेडिङ हुँदैन’

कुलमान घिसिङले भने- ‘लोडसेडिङ हुँदैन’


भारतबाट आयात गरेर उद्योगमा विद्युत् आपूर्ति गरिने

नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरेरै उद्योगमा विद्युत् दिने बताएको छ । भारतमा ऊर्जा संकट भएपछि केही दिनयता उद्योगलाई दिने विद्युत् कटौती गरेको प्राधिकरणले बिहीबार मध्यरातिबाट फेरि भारतबाटै आयात गरेर उद्योगलाई विद्युत् दिने बताएको हो ।

आज रातिदेखि भारतबाट नै फरक मूल्यमा विद्युत आयात गरी उद्योगलाई विद्युत् दिने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिएका छन् । उनले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताएका हुन् ।

‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उनले भने, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’

भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उनले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताए ।

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै उनले यो समस्या जेठबाट स्वतः अन्त्य हुने कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या हुँदैन ।

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै उनले अहिले तत्काल देखिएको समस्या मात्र रहेको बताए । यस्तो समस्या सधैं नदेखिने भन्दै उनले लोडसेडिङ नहुने दोहोर्‍याए ।