रुस-युक्रेन युद्धको एक महिना : २० लाख युक्रेनीले देश छोडे , ७ देखि १५ हजार रुसी सैनिक मारिए

रुस-युक्रेन युद्धको एक महिना : २० लाख युक्रेनीले देश छोडे , ७ देखि १५ हजार रुसी सैनिक मारिए


रुस र युक्रेनबीचको युद्ध सुरु भएको एक महिना पूरा भएको छ । रुसले गत फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो ।

युद्ध सुरु भएको एक महिनाको अवधिमा युक्रेनमा सात देखि १५ हजार रुसी सैनिक मारिएको दाबी उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)ले गरेको छ ।

नेटोका वरिष्ठ अधिकारीका अनुसार युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या ३० हजार देखि ४० हजार रहेको छ ।

तर, रुस स्वयमले भने मार्च २ पछि युक्रेनसँगको युद्धमा आफ्ना कति सैनिक मारिए तथा घाइते भएका छन् भन्ने सार्वजनिक गरेको छैन ।

रुसले अफगानिस्तानमाथि १० वर्ष कब्जा गर्दा १५ हजार रुसी सैनिक मारिएका थिए ।

युक्रेनले पनि युद्धमा आफ्ना कति नागरिक तथा सैनिकको मुत्यु भयो भन्नेमा स्पष्ट गरेको छैन । युक्रेनका राष्ट्रपतिले करिव दुई साता अघि युद्धमा एक हजार ३०० युक्रेनी सैनिक मारिएको जनाएका थिए । तर यो आँकडालाई तथ्यपरक ठानिएको छैन ।

युद्धका कारण हालसम्म २० लाखभन्दा बढी युक्रेनीले देश छोडेको जनाइएको छ । उनीहरु छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वभरबाट रुसलाई युद्ध अन्त्यका लागि दबाब दिन आह्वान गरेका छन् ।