कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


स्थानीय निकायको निर्वाचनका लागि उम्मेदवार छनोट गर्न संसदीय समिति गठनसम्बन्धी छलफल प्राथमिकतामा रहने

सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार दिउँसो बस्दैछ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फाल्गुण ३ गतेको बैठकको निर्णय अनुसार नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघहरु– नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्ष पदमा क्रमशः दुजाङ शेर्पा (काठमाडौं) र विद्वान गुरुङ्ग (पर्वत)लाई नियुक्त गरिएको छ ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ ।