तीनदिने भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा, श्रीलंका नजाने

तीनदिने भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा, श्रीलंका नजाने


बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैतको तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीनदिने भारत भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालय सुत्रले बताएको छ । स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको र, सम्भवतः उल्लिखित मिति (चैत १८ देखि २०) मा प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्कनेछन् ।

देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । केही समयअघि उनी एउटा सम्मेलनमा सहभागी हुन भारतको गुजरात जान लागेका थिए, तर कोरोना संक्रमण बढेपछि उक्त भ्रमण स्थगित गरिएको थियो ।

भारत भ्रमणको तयारी सुरु भएपछि प्रधानमन्त्री देउवा श्रीलंकामा चैत १६ गतेबाट सुरु हुने बिम्स्टेक शिखर सम्मेलनमा सहभागी नहुने भएका छन् । सो सम्मेलनलाई उनले भर्चुअल सम्बोधन गर्नेछन् । यसअघि यही चैत १६ गते उनले श्रीलंकाको भ्रमण गर्ने बताइएको थियो ।

श्रीलंकाले चैत १६ गतेबाट आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने गत फागुन २३ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले घोषणा गरेका थिए ।

‘प्रधानमन्त्रीज्यु श्रीलंका नजाने हुनुभएको छ । बिमस्टेक सम्मेलनलाई उहाँले भर्चुअल सम्बोधन गर्नु हुनेछ’, परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका छन् ।