मेयर भ्रष्टाचार मुद्दामा परेपछि उपमेयर परनिया बनिन् कार्यवाहक नगरप्रमुख

मेयर भ्रष्टाचार मुद्दामा परेपछि उपमेयर परनिया बनिन् कार्यवाहक नगरप्रमुख


  • सञ्जय मिश्रा, रौतहट

रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुखको जिम्मेवारी उपमेयर परनियादेवी पटेलले पाएकी छिन् । विधिवतरुपले कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर पटेलले पाएकी हुन् ।

नगरपालिकामा मेयरमा निर्वाचित धर्मेन्द्र पटेलविरुद्ध अख्तियारले मुद्दा हालेसँगै निलम्बित रहेकाले उपमेयर पटेललाई प्रमुखको जिम्मेवारी दिइएको हो ।

कार्यवाहक मेयरको रूपमा पछिल्लो केही दिनदेखि नगरको कामकाज गर्दै आए पनि विधिवतरुपमा सोमबारदेखि मेयरको जिम्मेवारी सम्हालेको परनियादेवी पटेलले जानकारी दिइन् ।

देवाही गोनाही नगरपालिकाका निलम्बित मेयर धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगीसहित २३औँ दिन धरौटीमा रिहा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौको विशेष अदालतमा गत ७ गते सोमबार ४ लाख रुपैयाँ धरौटीमा मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा गत ६ गते आइतबार विशेषमा अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट सोमबार माग अनुसारको ४ लाख रुपैयाँ धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएका थिए ।

मेयर धर्मेन्द्र पटेल, सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरी ४ जनालाई फागुन १५ गते हेटौँडाबाट गएको अख्तियारको टोलीले दुई लाख ५० हजार नगद र त्यतिकैको चेकसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

पक्राउ परेका ४ जनामध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यसअघि नै छुटिसकेका थिए ।

अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्तामार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका थिए । तर, मेयर पटेल तथा उनका पक्षधरहरुले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

पटेलले घुस मागेको सूचनाको आधारमा अख्तियारले उनीविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनी आफ्नो एकजना सहयोगसँगै रकम र चेकसहित पक्राउ परेका थिए । आरोपी धर्मेन्द्र पटेल सहयोगीसहित धरौटीमा रिहा भए पनि मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म पटेल निलम्बित रहने कानुनी व्यवस्था छ।

देवाही गोनाही नगरपालिकामा गत स्थानीय निर्वाचनमा जसपाबाट धर्मेन्द्र पटेल मेयरमा र तत्कालीन माओवादीबाट परनियादेवी पटेल उपमेयरमा निर्वाचित भएकी थिइन् । उपमेयर पटेल हाल एमालेमा रहेकी छन् ।