युक्रेनमाथि रुसी हमला, महिना दिनमा ३९ लाखले देश छाडे

युक्रेनमाथि रुसी हमला, महिना दिनमा ३९ लाखले देश छाडे


युक्रेन युद्धका कारण ३९ लाख युक्रेनी देश छोडेर अन्य देशमा शरणार्थी बनेको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार देश छोडेका शरणार्थीहरु थकित र निराश महसूस गरेका छन् ।

यूनएचसीआरका अनुसार मंगलबारसम्म ३९ लाख युक्रेनीले देश छाडेका छन् । पछिल्ला दिनमा शरणार्थीहरूको दैनिक प्रवाह ४० हजार छ ।

‘निश्चित रूपमा विस्थापनको गति र मापनको हिसाबले यो पलायन युरोपमा दोस्रो विश्वयुद्धपछिकै अप्रत्यासित हो’, यूएनएचसीआरका प्रवक्ता म्याथ्यू साल्टमार्शले भने ।

‘हामीले लाखौँ मानिसहरूलाई सीमामा आइपुगेको देखिरहेका छौँ ’, रेड क्रस र रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)को अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष फ्रान्सेस्को रोक्काले भने, ‘ मानिसहरू शारीरिक, मानसिक र भावनात्मक रूपमा थकित र तनावग्रस्त छन् ।’

युक्रेनी शरणार्थीहरू बाहेक, देशमा बसोबास गर्ने, अध्ययन गर्ने र काम गर्ने करिब दुई लाख गैरयुक्रेनीहरू पलायन भएको राष्ट्रसंघको आप्रवासी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।