‘चुनावी तालमेल’को बहानामा काङ्ग्रेस यसरी बन्दैछ ‘वाम-काङ्ग्रेस’ !

‘चुनावी तालमेल’को बहानामा काङ्ग्रेस यसरी बन्दैछ ‘वाम-काङ्ग्रेस’ !


यस पटकको निर्वाचनमा पनि काङ्ग्रेस कार्यकर्तालाई रुखमा मात्रै भोट हाल्ने अधिकारबाट वञ्चित तुल्याउँदै प्रचण्ड-माधवहरूको दलका चिह्न खोजी-खोजी मतदान गर्न बाध्य पार्ने आधारभूमि तयार गरिएको छ । प्रधानमन्त्रीमा दोहोरिने पात्रविशेषको स्वार्थसिद्धिका लागि कम्युनिस्टसँग सती जान कति काङ्ग्रेस तत्पर हुने हुन्, यो जान्नचाहिँ निर्वाचनसम्म कुर्नैपर्ने देखिन्छ ।

पछिल्लो समय ‘वामकाङ्ग्रेस’को विशेषणबाट समेत चिनिन थालेको नेपाली काङ्ग्रेसको मूल नेतृत्वको स्वार्थका कारण काङ्ग्रेस कार्यकर्ताले फेरि पनि आफ्नो दलको निर्वाचन चिह्न ‘रुख’मा मतदान गर्ने स्वतन्त्रता गुमाएका छन् । काङ्ग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले चुनावी तालमेलको पक्षमा निर्णय गरेपछि काङ्ग्रेसले कम्युनिष्टका उम्मेदवारहरूलाई भोट दिनुपर्ने परिस्थिति सिर्जना भएको हो ।

पछिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी उम्मेदवारहरूलाई मतदान गरे पनि प्रतिनिधिसभाको चुनावमा काङ्ग्रेसलाई माओवादी केन्द्रका ‘सुप्रिमो’ प्रचण्डबाट खुल्लमखुल्ला धोका दिइएको थियो । उक्त सन्दर्भ स्वाभिमानी एवम् इमानदार काङ्ग्रेसजनका निम्ति जीवनभर भुल्न नसकिने घाउ बनेर रहेको छ । खासगरी भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाललाई मेयर बनाउन माओवादीका तर्फबाट गरिएको जघन्य ‘चुनावी अपराध’को अंशियार नेपाली काङ्ग्रेससमेत बन्न पुगेको थियो । उक्त सन्दर्भ नेपालको राजनीतिक इतिहासमा एक कालो धब्बाको रूपमा रहेको छ । यस्तै, काङ्ग्रेसको सहारामा गोरखाबाट चुनाव जितेर हाल मधेसवादी दलको नेतृत्व गर्न पुगेका बाबुराम भट्टराईले पनि निर्वाचनमा काङ्ग्रेसले लगाएको गुन मात्र होइन, नेपाली काङ्ग्रेस भन्ने दललाई नै भुलिसकेका छन् । चुनावी गठबन्धनको सन्दर्भका यस्ता यावत विसङ्गति झल्झली सम्झिँदै फेरि पनि प्रचण्डहरूकै चाहनाबमोजिमका उम्मेदवारहरूलाई काङ्ग्रेसजनले मत माग्ने तथा मतदान गर्नुपर्ने परिवेश निम्त्याइएको छ ।

नेपाली काङ्ग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने मुद्दामा निकै अघिदेखि पार्टीभित्र बहस र विवाद हुँदै आएको हो । शुरुमा सभापति शेरबहादुर देउवा स्वयम् पनि प्रचण्ड-माधवहरूसँग चुनावी गठबन्धन गर्ने या नगर्ने भन्नेमा दुविधाग्रस्त मानसिकतामा रहेको अनुभूति गरिएको थियो । तर, पछिल्लो चरणमा देउवाले गठबन्धनको पक्षमा आफूलाई उभ्याएको मात्र नभइ पार्टीभित्र गठबन्धनको विपक्षमा तर्क राख्नसमेत निषेध गर्नेसम्मको हर्कत प्रदर्शन गरेका छन् । काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा उनले गठबन्धनको पक्षपोषण गर्दै दिएको अभिव्यक्तिले ‘रुख’को पक्षमा मत माग्न उत्साहित समस्त काङ्ग्रेस नेता-कार्यकर्ताको उत्साहमाथि पानी फेरिदिएको छ । एमाले निकै शक्तिशाली रहेको र गठबन्धनबिना काङ्ग्रेसले आफ्नो बर्चस्व जोगाउन नसक्ने तर्क गर्दै सभापति देउवा गठबन्धनको विपक्षमा धारणा राख्नेहरूप्रति अस्वाभाविक ढङ्गले खनिएका थिए ।

पार्टीभित्रै विपक्षी भूमिका निर्वाह गर्न बाध्य शेखर कोइराला तथा संस्थापनइतर समूहले शुरुदेखि नै आगामी तीनै तहको निर्वाचनमा काङ्ग्रेसले एक्लै चुनाव लड्नुपर्ने र यसबाट पार्टीलाई राम्रै सफलता पनि प्राप्त हुने तर्क अघिसार्दै आएकोमा पछिल्ला दिनमा सो समूहभित्रै पनि ‘चुनावी गठबन्धन’ मामलामा दुई धार देखा परेको छ । शेखर समूहबाट निर्वाचन जितेका महामन्त्री गगन थापाले आफ्नो अडान छोड्दै गठबन्धनकै पक्षमा आफूलाई प्रस्तुत गरेपछि उक्त समूह कमजोर भएको सन्देश प्रवाहित भएको छ । थापालाई ‘स्थानीय तह चुनावी घोषणा पत्र लेखन समिति’को संयोजक चयन गरी सभापति देउवाले एक तीरले दुई शिकार गरेका थिए । शेखर समूहबाट थापालाई भड्काउन देउवाद्वारा चालिएको उक्त कुटिल चाल सफलताउन्मुख हुँदै छ । यसअघि ‘एक्लै चुनाव लडेर काङ्ग्रेसले आफ्नो शान-मान दर्शाउनुपर्ने’ भाषण दिँदै आए पनि एकाएक महामन्त्री थापाबाट प्रचण्ड-माधवहरूसँग चुनावी तालमेलको पक्षमा उभिने मानसिकता दर्शाएपछि संस्थापनइतर समूह सम्भावित चुनावी गठबन्धनविरुद्ध बेग्लै रणनीति बनाएर कडा प्रतिवादमा उत्रने तयारीमा रहेको सो समूहका एक प्रभावशाली नेताले बताए ।

यसरी पार्टीभित्र गठबन्धनको विपक्षमा जबर्जस्त माहोल सिर्जना भए पनि सभापति देउवाका अलावा रामचन्द्र पौडेललगायत शीर्षतहका केही नेताहरू प्रचण्ड-माधवहरूलाई साथमा बोकेरै निर्वाचनमा जानुपर्ने पक्षमा उभिएका छन् । विरोध मत्थर तुल्याउन ‘गठबन्धन’को साटो ‘चुनावी तालमेल’ भन्ने शब्दको सहारा लिएर भए पनि गठबन्धन कसिलो पार्ने रणनीति संस्थापन पक्षले अपनाएको र, यसमा गगन थापालगायतले साथ दिने परिवेश तयार भइसकेको बताइन्छ । यसरी, यस पटकको निर्वाचनमा पनि काङ्ग्रेस कार्यकर्तालाई रुखमा मात्रै भोट हाल्ने अधिकारबाट वञ्चित तुल्याउँदै प्रचण्ड-माधवहरूको दलका चिह्न खोजी-खोजी मतदान गर्न बाध्य पार्ने आधारभूमि तयार गरिएको छ । प्रधानमन्त्रीमा दोहोरिने पात्रविशेषको स्वार्थसिद्धिका लागि कम्युनिस्टसँग सती जान कति काङ्ग्रेस तत्पर हुने हुन्, यो जान्नचाहिँ निर्वाचनसम्म कुर्नैपर्ने देखिन्छ ।