गठबन्धनलाई दुष्प्रभाव पार्ने खालका अभिव्यक्ति निर्वाचनसम्म नगर्ने निर्णय

गठबन्धनलाई दुष्प्रभाव पार्ने खालका अभिव्यक्ति निर्वाचनसम्म नगर्ने निर्णय


  • डम्बर निदाल, डडेल्धुरा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने विचार अभिव्यक्ति कसैले नदिने गठबन्धन दलहरूले निर्णय गरेका छन् ।

आइतबार डडेल्धुराको तुफानडाँडास्थित नेपाली कांग्रेसको सम्पर्क पार्टी कार्यालयमा बसेको गठबन्धन बैठकले चुनावी तालमेलविरुद्ध अभिव्यक्ति नदिने निर्णय गरेको हो । बैठकले स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयको समेत स्वागत गरेका छन् ।

नेपाली कांग्रेस डडेल्धुराका उपसभापति एवं कार्यवाहक सभापति डिल्लीराज जोशीको अध्यक्षतामा बसेको डडेल्धुरा जिल्लास्तरीय गठबन्धनको बैठकले केन्द्रमा गरेको निर्णयको स्वागत गर्ने निर्णय गर्दै निर्वाचनका सवालमा निरन्तर छलफल जारी राख्ने र निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्तिसमेत कसैले अभिव्यक्त नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका अनुसार स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धन केन्द्रको निर्णयलाई कायम राख्न निरन्तर छलफल गर्ने निर्णय भएको, साथै निर्वाचनसम्म गठबन्धनलाई प्रभाव पार्ने खालका कुनै पनि विचार अभिव्यक्ति समेत कसैले अभिव्यक्त नगर्ने निर्णय भएको बताए ।

उक्त बैठकमा नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति रघुवर भट्ट, वर्तमान उपसभापति लक्ष्मी अवस्थी, सचिवद्वय, नेकपा समाजवादी अध्यक्ष तुलाराम बोहरा, माओवादी नेता मानबहादुर माल, समाजवादी नेता डा. तारा जोशी, नेकपा माओवादी केन्द्रका अध्यक्ष उमेशप्रसाद भट्ट, जनता समाजवादी अध्यक्ष लक्ष्मीकान्त पनेरु, राष्ट्रिय जनमोर्चाका सहसचिव टंकप्रसाद अवस्थी लगायतका नेताहरु बैठकमा सहभागी रहेका थिए ।

गठबन्धनको निर्णयलाई नमान्नेहरूले बरु पार्टी छोडे पनि हुने र हिम्मत भए स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर देखाउनुपर्ने पूर्वसभापति भट्टले बताए । स्थानीय तहको निर्वाचनमा केन्द्रदेखि वडासम्म गठबन्धन गर्ने सहमति सत्तागठबन्धनको भएकाले आपसी समन्वयमा गठबन्धनलाई सहयोग गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ थियो ।