बुचामा ५७ जनाको सामूहिक चिहान भेटिएको यूक्रेनी अधिकारीको दाबी

बुचामा ५७ जनाको सामूहिक चिहान भेटिएको यूक्रेनी अधिकारीको दाबी


हालै रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभनजिकैको बुचा शहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले बताएका छन् ।

बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भनेका छन्, ‘यहाँ यो लामो चिहानमा ५७ जनाको शव गाडिएको छ ।’

उक्त शहरको मध्यभागमा रहेको चर्चको पछाडि सामूहिक चिहान रहेको छ ।

जमिनमुनि गाडिएका शवमध्ये करिब १० वटा लासलाई माटोले आधा पुरिएको अवस्थामा देखिएको एएफपीले जनाएको छ । बताइएअनुसार सामूहिक चिहानमा भेटिएकामध्ये केही लासहरू कालो जिपभएको झोलासहित सुरक्षाकर्मीको पहिरनमा थिए भने अरूचाहिं सामान्य पहिरनमा थिए ।

यूक्रेनले रुसी सेनालाई बुचामा ‘जानीजानी नरसंहार’ गरेको आरोप लगाएको छ ।

यूक्रेनी सेनाको शसक्त प्रतिरोधपछि रूसी सेनाले राजधानीबाट बिस्तारै पछि हट्दै गरेको समयमा कीभ वरिपरि रूसले गरेको गैरसैनिक व्यक्तिको हत्याका प्रमाणहरू देखापरेका छन् ।

एएफपी संवाददाताहरूले शुक्रबार बुचाको एउटा सडकछेउमा गैरसैनिक पहिरन लगाएका कम्तीमा पनि २० वटा लास देखेको बताएका छन् । ती मृत शरिरमा एउटा शव हात पछाडि सेतो कपडाले बाँधेको अवस्थामा नजिकै यूक्रेनी पासपोर्टसहित भेटिएको पुष्टि गरेका छन् ।

जर्मनीले आइतबार बुचामा नागरिकहरूको हत्यालाई ‘भयानक युद्ध अपराध’को रूपमा निन्दा गरेको छ र रूसविरुद्ध नयाँ प्रतिबन्धको लागि आह्वान गरेको छ । यसैबीच बेलायतले उक्त घटनालाई युद्ध अपराधको रूपमा ‘भयावह कार्यहरू’को अनुसन्धानका लागि आह्वान गरेको छ ।