‘कम्पेनियन्स’को रिमेक बनाउँदै आमीर

‘कम्पेनियन्स’को रिमेक बनाउँदै आमीर



बलिउड अभिनेता आमीर खानको फिल्म हरेकजसो दर्शकका लागि प्रतीक्षाको विषय बनेको हुन्छ । आमीर आफ्नो फिल्ममा विशेष सन्देश दिन्छन्, जुन सन्देश परिवारका साथ बसेर हेर्न मिल्ने खालको मात्र नभइ मनमोहक पनि हुने गर्छ । कुनैबेला चकलेटी हिरोको संज्ञा पाएका अमीरले हालै आफ्नो ५७औँ जन्मदिन मनाएका छन् । यो उमेरमा पनि उनको काम गर्ने जोशमा भने रत्तिभर कमी नआएको उनका सहकर्मीहरू अनुभूति गर्छन् ।

जन्मदिनका अवसरमा उनले पत्रकारमाझ आफू नयाँ फिल्मको तयारी गरिरहेको जनाउ दिए । केही समयअघि मात्र आमीर ‘शुभ मंगल सावधान’का निर्देशक आरएस प्रसन्नाका साथ फिल्म ‘स्लाइस अफ लाइफ’ फिल्मको तयारी गरिरहेको खबर बाहिर आएको थियो ।

यो स्पेनिस फिल्म ‘कम्पेनियन्स’को रिमेक हुने बतइन्छ । फिल्मलाई सोनी इण्डियाले निर्माण गर्ने तयारी गरिरहेको चर्चा पनि चलेको थियो । जन्मदिनमा आमीरलाई ‘कम्पेनियन्स’को रिमेककाबारेमा प्रश्न गर्दा उनले आफू फिल्मको योजनामा रहेको र योजना पूरा भएपछि आफैंले घोषणा गर्ने जवाफ दिए ।

‘मैले अहिलेसम्म फिल्मको घोषणा गरेको छैन । तपाईंहरूलाई यसको बारेमा कसरी थाहा भयो ? अहिले यो फिल्म योजना–चरणमा छ । जब यसको योजना पूरा हुन्छ, त्यही बेला म आफैं घोषणा गर्नेछु । यो फिल्मका बारेमा अहिले नै कुरा गर्नु हतार मात्र हुनेछ’, आमीरले भनेका छन् ।

चर्चाअनुसार फिल्म ‘कम्पेनियन्स’को कथा एक पियक्कड कोचको वरपर घुम्छ, जो दिमागी रूपमा असक्षम खेलाडीलाई प्रशिक्षण दिन्छ । यो टिमले विश्वभर नै कयौंँ ट्रफी जितेर आफ्नो नाम कमाउँछ । फिल्ममा आमीर स्वयम् उक्त कोचको भूमिकामा हुनेछन् ।