नयाँ वर्ष मनाएर दिल्ली पुग्ने तयारी

नयाँ वर्ष मनाएर दिल्ली पुग्ने तयारी


यही २०७८ साल चैत्र ११ गते झापा पुग्नुभएका राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यहरूले २०७९ को नयाँ वर्ष नेपालको पूर्वी सीमामा रहेको भारतीय शहर सिलीगुडीमा मनाउने कार्यक्रम बनाएको बुझिएको छ । यसअघि झापामै नयाँ वर्ष मनाएर सिलीगुडी जाने कार्यक्रम रहेकोमा राजपरिवारका केही नातेदारहरूसहित सिलीगुडी जाने कार्यक्रम बनेको हो ।

प्राप्त जानकारीअनुसार पूर्व बडामहारानी कोमलका भाइबुहारी एवम् धीरेन्द्रका छोरीहरू समेत अहिले झापा पुगेका छन् । यसअघि पूर्व बडामहारानी कोमल र छोरी प्रेरणा राजाका साथ झापाको दमक पुग्नुभएको थियो । पूर्व युवराज्ञी हिमानी भने अहिले छोरीहरूसँग बैंककमा रहनुभएको छ । छोरा हृदयेन्द्रलाई अमेरिकामा कलेज भर्ना गरेर उहाँ छोरीहरूका साथ बैंकक फर्किनुभएको थियो । पूर्व युवराज पारस र हिमानीका दुवै छोरीहरू अध्ययनका क्रममा बैंककमा छन् ।

झापामा रहँदा राजा ज्ञानेन्द्रले विभिन्न क्षेत्रका मानिसहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०७९ को नयाँ वर्ष सिलीगुडीमा मनाएपछि राजपरिवारका सदस्यहरू काठमाडौं फर्किए पनि राजा भने केही समय भारत भ्रमणमा रहनुहुने जानकारी प्राप्त भएको छ । भ्रमण तालिकामा फेरबदल नभए उहाँ सिलीगुडीबाट नयाँदिल्ली जानु हुनेछ । भ्रमण दलमा को-को रहने भन्ने निश्चित भइसकेको छैन ।

नयाँदिल्लीमा राजा ज्ञानेन्द्र र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट हुने कार्यक्रम रहेको श्रोतहरूले बताएका छन् । पूर्व श्री ५ र प्रधानमन्त्री मोदीको भेटघाट आचार्य महामण्डलेश्वरमार्फत हुन लागेको हो । भारत भ्रमणका क्रममा राजाले विभिन्न धार्मिक अनुष्ठानमा पूजा-अर्चना गर्ने कार्यक्रम रहेको छ । आचार्य महामण्डलेश्वरको निमन्त्रणामा उहाँले सन् २०२१ को अप्रिल महिनामा भारतको उत्तराखण्डमा पर्ने हरिद्वारको भ्रमण गर्नुभएको थियो ।