पाँचतारा साकोसद्वारा बृहत रक्तदान कार्यक्रम

पाँचतारा साकोसद्वारा बृहत रक्तदान कार्यक्रम


६५औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस दिवसका अवसरमा विगत १२ वर्षदेखि संस्थाले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

पाँचताराको आयोजना एवम् ब्लड डोनर्स एसोसिएसन (ब्लोदान) तथा कास्कुनको संयोजनमा भएको कार्यक्रममा १४६ जनाले रक्तदान गरेका संस्थाले जनाएको छ ।

‘ब्लोदान’का केन्द्रीय उपाध्यक्ष उज्ज्वल केसी, कास्कुनका सचिव शालिकराम पुडासैनी, ब्लोदान काठमाडौंका अध्यक्ष जनक खड्कालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको रक्तदान कार्यक्रममा रक्तदाताहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

अनौपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष भोलानाथ पाठकले विगत १२ वर्षदेखि कोभिड १९ को असहज परिस्थितिका बेलामा पनि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिँदै सहकारीकर्मीमा रक्तदान गर्नुपर्छ भन्ने भावना जागेको देख्दा खुशी लागेको बताए ।

सबै सहकारीले रक्तदान गर्नु खुसीको कुरा भए पनि रक्तदान अव्यवस्थित र देखासिखीका हिसाबले समेत गर्नेगरिएकोे हुँदा सामाजिक योगदानका लागि रक्तदान गर्नुपर्छ भन्ने भावना सबैमा विकसित गराउन आवश्यकता रहेको उनले औंल्याए ।

रक्तदानमा लाग्नेहरूलाई सोसल रेकग्निशन, अवार्ड र छुट्टै परिचयपत्र तथा सम्मानको वातावरण बनाउनसके थप प्रोत्साहन मिल्ने र स्वंयसेवी रक्तदाताहरूको संख्या पनि वृद्धि हुँदै जाने अध्यक्ष पाठकले बताए ।

ज्ञात रहोस्, संस्थाले रक्तदानमा सदस्यहरूको सहभागिता बढाउन पाँच पटक भन्दा बढी रक्तदान गर्नेलाई चाँदीको सिक्का र दोसल्लाले सम्मान गर्दै आएको छ । साथै रक्तदातालाई प्रमाणपत्र, डायरी, टिसर्ट, ग्लास जस्ता उपहार प्रदान गरी निरन्तर रक्तदानमा लाग्न हौसला प्रदान गर्दै आएको छ ।