बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

बालागुरु षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माग


मोरङको दाम्राभिट्टामा नेपालका शिक्षाका ज्योति एवं समाजसुधारक बालागुरु षडानन्द अधिकारीको ११०औँ स्मृति दिवस भव्यताका साथ मनाइएको छ ।

आवाल व्रह्मचारी षडानन्द प्रतिष्ठान दमक उपसमितिले शनिबार (१३ असार) आयोजना गरेको उक्त कार्यक्रम रतुवामाई नगरपालिका वडा नं. ८ दाम्राभिट्टास्थित त्रिपुरेश्वर शिवालय मन्दिरको सभाहलमा सम्पन्न भएको थियो ।

आवाल व्रह्मचारी षडानन्द प्रतिष्ठान दमक उपसमितिका संयोजक श्यामकृष्ण लम्सालको प्रमुख आतिथ्यता एवं आयोजक समितिका संयोजक तुलसीप्रसाद त्रितालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय शिक्षासेवी मेदिनीप्रसाद कडरिया, ९८ वर्षका वयोवृद्ध ऋषिराज त्रिताल वेदबहादुर ओझा, महिला नेतृ तीर्थमाया कार्की लगायतका वक्ताहरुले नेपालको शिक्षा र सभ्यता विकासको क्षेत्रमा बालागुरु षडानन्दले पुऱ्याएको योगदानको कदर र सम्मान गर्न उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने कुरामा जोड दिनुभयो ।

वि.सं. १८९२ मार्ग शुक्ल पञ्चमीका दिन भोजपुरको दिङ्लामा जन्मिनुभएका बालागुरु षडानन्द वि.सं. १९७३ जेष्ठ शुक्ल त्रयोदशीका दिन व्रह्मलीन हुनुभएको थियो ।