टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने

टेलिकमले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने


प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गरिने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पुऱ्याउने प्रस्ताव पारित गरेको छ । १४औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आज (२०७८ चैत २४ गते) देखि शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

बिहीबार सम्पन्न वार्षिक साधारणसभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उपभोक्ताको अपेक्षाअनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्न रचनात्मक सुझावका लागि आग्रह गरे ।

आव २०७७/७८ मा कम्पनीले कर तथा गैर करवापत आफ्नो कूल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् रु २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

कम्पनीले इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा ध्यान केन्द्रित गर्दै आएको छ । स्याटेलाइट प्रविधिको प्रयोगद्वारा विकट हिमाली जिल्लामा वायरलेस तथा वायरलाइन सेवासमेत उपलब्ध गराइएको छ ।

प्रवक्ता अधिकारीका अनुसार मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बीटीएस तथा ट्रान्समिसन उपकरण जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटीटीएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ । नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुऱ्याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।