शंकास्पद ‘चालिस करोड प्रकरण’सँगै राष्ट्र बैंकका गभर्नर निलम्बित !

शंकास्पद ‘चालिस करोड प्रकरण’सँगै राष्ट्र बैंकका गभर्नर निलम्बित !


विलासी बस्तु आयात रोक्न अर्थमन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

अधिकारीलाई निलम्बित गर्दै सरकारले डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले गभर्नर अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि सत्ताधारीबीच छलफल भएको बुझिएको छ ।

मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप गभर्नर अधिकारीमाथि लागेको छ ।

अर्थमन्त्रीका निकट व्यक्तिको नाममा अमेरिकाबाट आएको चालिस करोड रकम निकासामा राष्ट्रबैंकले अनुसन्धानात्मक रवैया अपनाएपछि अर्थमन्त्री चिढिएका थिए भने उनैको दबाबमा गभर्नरमाथि कारवाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सहमति जनाएको भन्दै राजनीतिक वृत्तमा चर्चा शुरु भएको छ ।