अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश


अमेरिकाको सर्वोच्च अदालतमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बन्नुभएको छ । अमेरिकी सिनेटले शुक्रबार ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेपछि सर्वोच्च अदालतको २३३ वर्षको इतिहासमा अश्वेत महिला न्यायाधीशका रूपमा ज्याक्सनले नाम लेखाउन सफल हुनुभएको हो ।

सर्वोच्च अदालतको नौ सदस्यीय बेन्चमा एक मात्र अश्वेत महिलाका रूपमा ज्याक्सन देखिनुहुनेछ । राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बाचा गरेअनुसार ज्याक्सनलाई न्यायाधीशमा सिफारिस गरिएको एएफपीले जनाएको छ ।

तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेपछि उहाँको नाम अनुमोदन भएको हो ।

सिनेटमा मतदानको अध्यक्षता पनि पहिलो अश्वेत महिला उपराष्ट्रपति कमला ह्यारिसले गर्नुभएको थियो । ५१ वर्षीया ज्याक्सनले हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गर्नुभएको छ । सर्वोच्च अदालतमा ६ जना कन्जरभेटिभ न्यायाधीश रहेका छन् ।