अष्ट्रियन चान्सलरद्वारा युक्रेनी राष्ट्रपतिसँग भेटघाट एवम् संयुक्त पत्रकार सम्मेलन

अष्ट्रियन चान्सलरद्वारा युक्रेनी राष्ट्रपतिसँग भेटघाट एवम् संयुक्त पत्रकार सम्मेलन


  • सागर सुवेदी, अष्ट्रिया

अष्ट्रियाका चान्सलर कार्ल नेहामेरले आज शनिबार मध्यान्न युक्रेनका राष्ट्रपति सलेन्स्कीसँ युक्रेनको राजधानी किभमा भेटघाट गर्नुका साथै साथै संयुक्त पत्रकार सम्मेलन समेत गरेका छन् । अष्ट्रियन चान्सलर कार्यालयका अनुसार चान्सलर नेहामेर करिब १४ घण्टा हवाइजहाज र रेलको लामो यात्रा गरेर किभ पुगेका हुन् ।

अष्ट्रियाली चान्सलर र युक्रेनका राष्ट्रपति सलेन्सकीलेले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा अष्ट्रियाका चान्सलरले अष्ट्रिया र अष्ट्रियाली जनताको तर्फबाट गरिरहेको सहयोगलाई निरन्तरता दिनुका साथै अष्ट्रिया हरदम युक्रेन र युक्रेनी जनताको पक्षमा रहेको सन्देश विश्वसमुदायलाई दिनका निमित्त आफू किभमा उपस्थित भएको बताए ।

उपस्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारमाध्यमसँग चान्सलर नेहामेरले अष्ट्रियाले भलै मिलिटरी सहयोगमा न्युट्रल रहने सन्धिमा हस्ताक्षर गरेको भएता पनि मानवअधिकारको वकालतको लागि न्युट्रल भइरहन आवश्यक नभएको र, रसियाले गरेको आक्रमण र मानवअधिकारको विश्वब्यापी मान्यता तथा युद्धको नियमबाहिर गएर गरिएको अपराध हुनाले यस विषयमा अष्ट्रियालगायत बाँकी विश्वले आवाज उठाइरहने जानकारी दिए ।

स्मरण रहोस्, दोश्रो विश्वयुद्धको अन्त्यसँगै अष्ट्रियाको राजधानी भियनामा संयुक्त राष्ट्रसंघीय कार्यालय स्थापना र शान्तिक्षेत्रको प्रस्तावसँगै यस मुलुकका सेनाहरु शान्ति स्थापना कार्यबाहेक कुनै मुलुकलाई सैनिक सहयोग गर्न नमिल्ने सन्धिमा हस्ताक्षर गरेको राष्ट्र हो । त्यसैले अष्ट्रियाले संयुक्त राष्ट्र संघको शान्ति स्थापना मिशनबाहेक आफूलाई कुनै पनि प्रत्यक्ष युद्धको पक्ष या विपक्षमा राख्न सक्दैन ।