पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित

पाकिस्तानको २३औँ प्रधानमन्त्रीमा शेहबाज निर्वाचित



पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित भएका छन् । पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग-नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिएको छ ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो ।

पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो ।

संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले बताएका छन् ।

विपक्षी दलको नेतृत्व गर्दै आएका ७० वर्षीय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए । उनले पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतलाई समेटेर नयाँ सरकार बनाउने भएका छन् ।

यसअघि विश्वचर्चित क्रिकेट खेलाडी खानको नेतृत्वमा सरकार बन्दा संसारभरी नै सकारात्मक सन्देश गए पनि उनको कार्यकाल भने ठोस उपलब्धिविना सकिएको छ । सुरुमा निकै लोकप्रिय निर्णय गरेका खानले दलीय व्यवस्थापन र प्रभावकारी राज्य सञ्चालन गर्न नसक्दा सांसदको कार्यकाल बाँकी रहँदा नै प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनु परेको छ ।