माओवादीद्वारा पनि योग्य मानिसको चयन !

माओवादीद्वारा पनि योग्य मानिसको चयन !


माओवादीमा पनि योग्यता पुगेका, असल र इमानदार मानिस हुन्छन् भन्ने कुरामा धेरैको विश्वास नहुन सक्छ, तर माओवादीमा पनि असल र इमानदार मानिस छन् र, तीमध्ये एक मानिन्छन् विष्णुपुकार श्रेष्ठ ।

धादिङको सुनौलाबजारमा जन्मिएका श्रेष्ठले धेरै लामो समयसम्म आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्यापन गरेका थिए । विद्यालयमा विष्णुपुकारलाई ‘अल राउण्डर टिचर’का रूपमा लिइन्थ्यो । उनी गणित, विज्ञान, कृषि, सामाजिक शिक्षा, अङ्ग्रेजी र नेपाली विषयसमेत पढाउने गर्थे । विद्यार्थी कालदेखि नै वामपन्थी रुझानका श्रेष्ठ शिक्षण सेवाबाट बाहिरिएपछि राजनीतिमा सक्रिय भएका थिए । माओवादी युद्धकालमा भूमिगत रहन बाध्य पारिएका श्रेष्ठ तत्कालिक प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सङ्कटकाल घोषणा गरिएको समयमा सेनाद्वारा पक्राउ परेका थिए ।

६ महिनाभन्दा बढी समयसम्म चरम यातनाका बीच सैन्य कठघरामा राखिएका विष्णुपुकार थुनामुक्त हुँदा जीवन र मरणको दोसाँधमा थिए । त्यसपछिका केही वर्ष मानवअधिकारकर्मीका रूपमा समेत सक्रिय श्रेष्ठ पछिल्लो सयममा माओवादी पार्टीको निर्वाचन प्रमुखको जिम्मेवारीमा थिए । श्रेष्ठलाई सरकारले चीनका लागि नेपालको राजदूतमा सिफारिश गरेको छ । उक्त जिम्मेवारीका निम्ति श्रेष्ठको चयनलाई उपयुक्त र उचित मानिएको छ ।