आरजुले नचाहेपछि रोकिए भरत

आरजुले नचाहेपछि रोकिए भरत


प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा राजदूत नियुक्तिका क्रममा सर्वाधिक हाबी भइन् । सत्ता-गठबन्धनका दलहरूबीच भागबण्डा हुँदा काङ्ग्रेसको भागमा परेका देशहरू भारत, अमेरिका र बेलायतमा आरजुले चाहेकै व्यक्तिहरूलाई राजदूत बनाएर पठाइएको थियो । ठूला र शक्तिशाली मुलुकहरूमा भाग पाएपछि अन्य मुलुकको राजदूत नियुक्तिमा उनको हस्तक्षेप नहोला भन्ने ठानिएको थियो । तर उनी रोकिइनन्, रिक्त बीस राजदूतको नियुक्तिका क्रममा पनि आरजुको सक्रियता निकै बढेको महसूस कुटनीतिक क्षेत्रले गरेको छ ।

काङ्ग्रेसको भागमा परेको थप चार राजदूत नियुक्तिमा मात्र होइन, परराष्ट्र मन्त्रालयअन्तर्गतका कर्मचारीमध्येबाट नियुक्त हुने आठ राजदूत चयनका क्रममा पनि आरजुकै निर्णायक हस्तक्षेप रहेको बताइन्छ । आरजुकै हस्तक्षेपका कारण परराष्ट्रसचिव भरत पौडेल राजदूत बन्नबाट रोकिएको जानकारी प्राप्त भएको छ । सात वर्षदेखि परराष्ट्र मन्त्रालयको काममा सीमित हुँदै आएका भरत पौडेल त्यसअघि पाकिस्तानको लागि नेपाली राजदूत थिए । सचिवको जिम्मेवारीमा रहेका पौडेललाई अमेरिका, भारत, बेलायत, जापान र चीन जस्ता मुलुकमा राजदूत बनाइने अनुमान कुटनीतिक क्षेत्रका जानकारहरूले गरेका थिए ।

भनिन्छ, बेलायत पौडेलको रोजाइमा थिएन, अमेरिका र भारतमा पनि आरजुकै रोजाइको मानिसलाई राजदूत बनाइएपछि रिक्त बीसमध्ये जापान, चीन र अष्ट्रेलिया मात्र अलिक उच्च प्रोफाइलका मुलुक बाँकी थिए । अष्ट्रेलियामा माधवकुमार नेपालका बहिनीज्वाइँलाई पठाउनुपर्ने र चीनमा माओवादीले नछोड्ने भएपछि जापान एउटा बाँकी रह्यो । जापानका निम्ति परराष्ट्र मन्त्रालयकै सहसचिव दुर्गा बहादुर सुवेदी क्षेत्री (दुवसु) चयन हुने भएपछि सचिव पौडेल यसपटक पनि राजदूत बन्नबाट बञ्चित रहे । अन्य ग्रेडका मुलुकमा राजदूत बन्न अनिच्छुक भएकोले पनि पौडेल यसपटक छुट्न पुगेको बुझिन्छ ।