राजधानीका नगरमा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण

राजधानीका नगरमा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण


उपत्यकाका प्रमुख नगरहरूमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या अधिक रहनु र उनीहरूप्रति मतदाता तथा मिडियाले सकारात्मक दृष्टिभाव राख्नुले स्थानीय सरकार गैह्रदलीय बन्नुपर्छ भन्ने अवधारणा नै जनचाहना भएको पुष्टि गरेको छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न यसपटक स्वतन्त्र नागरिकहरू ज्यादा उत्साही र अग्रसर भएको पाइएको छ । राजधानी काठमाडौंको मेयरको प्रत्यासी बन्न सिनेनायक भुवन केसीदेखि ऱ्यापर बालेन शाहसम्मले इच्छा जाहेर गरेका छन् । सिनेमाकै अर्का कलाकार राजेश हमाल र पूर्व प्रहरी अधिकृत रमेश खरेलले पनि महानगरप्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका थिए । काठमाडौं महानगरको मतदाता नामावलीमा खरेलको नाम नभएकोले उनी पछि हट्न बाध्य भएको बताइन्छ । कलाकार राजेश हमालले पनि उम्मेदवारी घोषणा गरिसकेपछि पछि हट्ने निर्णय लिएको बुझिएको छ । सम्भावित स्वतन्त्र प्रत्याशीहरूमा दीपक सिंह महर्जन, शान्त महर्जन र सञ्जय पुडासैनीको नाम पनि अगाडि आएको छ । त्यस्तै, पूर्व मिस नेवा सुनिता डङ्गोल र यादवलाल कायस्थको पनि मेयरको स्वतन्त्र प्रत्याशीका रूपमा नाम अगाडि आएको छ । ललितपुर महानगरमा समेत पार्टीको भन्दा स्वतन्त्र उम्मेदवारको चर्चा अधिक छ । सम्भावित स्वतन्त्र प्रत्याशीका रुपमा सुसन कर्माचार्य र श्रीजना श्रेष्ठको नाम लिन थालिएको छ ।

काठमाडौं महानगरमा नेतृ सिर्जना सिंहलाई काङ्ग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनाउन दबाब पर्न थालेको छ । गोर्खाको काङ्ग्रेस परिवारकी सदस्य सिर्जना लामो समयदेखि गृहणीको भूमिकामा रहेर पनि राजनीतिमा उनको भूमिका बेग्लै प्रकारले स्थापित छ । स्वयम् प्रकाशमानको सफलतामा पनि सिर्जनाको मूख्य हात रहेको बताइन्छ । १७ वर्षको उमेरमा २०३६ सालमा नेपाल महिला सङ्घ गोर्खाको अध्यक्ष बनेकी सिर्जना शंकरदेव क्याम्पसमा पम्फा भुसालसँगको प्रतिष्पर्धामा विजयी बनेकी थिइन् । काठमाडौंमा एमालेले विद्यासुन्दर शाक्यलाई पुनः दोहोऱ्याउने इच्छा राखेको भए पनि केशव स्थापितबाहेक अरुलाई चुनाव जिताउन मुस्किल पर्ने देखिएपछि स्थापितलाई मनाउने प्रयास भइरहेको बुझिएको छ । काङ्ग्रेसको तर्फबाट अघिल्लो निर्वाचनमा उपमेयर विजयी हरिप्रभा खड्गी पनि मेयर पदको बलियो दाबेदारका रूपमा अगाडि आएकी छन् । उपमेयरका रूपमा खड्गीको कामलाई नगरबासीहरूले उच्च मूल्याङ्कन गरेका छन् । काठमाडौं महानगरको प्रमुख बन्न तिर्थराम डङ्गोल, प्रदीप मिश्र र भीमसेनदाश प्रधानले समेत रुचि राखेको बताइन्छ ।

उता ललितपुर महानगरको मेयरमा एमालेले हरिकृष्ण ब्यञ्जनकारलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने काङ्ग्रेसका पुराना नेता भरतलाल न्ह्याछ्योँ पनि काङ्ग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्न दौडधूप गर्दैछन् । गत निर्वाचनमा विजयी मेयर चिरिबाबु महर्जनलाई नै दोहोऱ्याउने इच्छा पार्टी सभापति शेरबहादुर देउवाको भएको बुझिएको छ ।

बुढानिलकण्ठ नगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मोइथाइका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका नवराज भण्डारी अघि सर्ने भएका छन् । तर सुमित खरेलले स्वतन्त्र उम्मेदवारी दिएमा भण्डारीले खरेललाई नै समर्थन गर्ने बताइएको छ । सुमित खरेल हालका नगरप्रमुख उद्धव खरेलकै पारिवारिक सदस्य हुन् । चन्द्रागिरी नगरपालिकाको मेयरमा सुमन कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने तयारीका साथ प्रचार शुरु गरिसकेका छन् । कोइरालाको सम्भावित उम्मेदवारीले नगरबासीहरूमा उत्साह थपेको बुझिएको छ ।

यसरी उपत्यकाका प्रमुख नगरहरूमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या अधिक रहनु र उनीहरूप्रति मतदाता तथा मिडियाले सकारात्मक दृष्टिभाव राख्नुले स्थानीय सरकार गैह्रदलीय बन्नुपर्छ भन्ने अवधारणा नै जनचाहना भएको पुष्टि गरेको छ ।