‘प्रत्येक प्रयास उपलब्धिमा परिणत होस्, सबै नेपालीको सपना साकार होस्’

‘प्रत्येक प्रयास उपलब्धिमा परिणत होस्, सबै नेपालीको सपना साकार होस्’


पूर्व श्री ५ ज्ञानेन्द्र शाहले वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्दैश जारी गर्दै वहाँले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गर्दै यो चिन्ताको विषय भएको बताउनुभएको छ ।

नयाँ वर्षको शुभकामना सन्देशमा पूर्व श्री ५ ले नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन आह्वान गर्दै भन्नुभएको छ, ‘सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस्, कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्दछ । यही भावनालाई आत्मसात गर्दै नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौँ । तर आज नेपाल कोहीसँग कतै टांँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महीनताको विषय बन्न गएको छ।’