सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त


  • file photo

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबारको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बन्नुभएका केसीलाई गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्नबाट समेत सुशोभन गर्नुभयो ।

गृहमन्त्रालयमा भएको समारोहमा गृहसचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएकोमा उहाँलाई बधाई दिनु हुँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

विसं २०२३ साल भदौ १५ गते नुवाकोट जिल्लाको तलाखु-३ मा जन्मनु भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकास लिनुभएकाले सरकारले केसीलाई महानिरीक्षकमा पदोन्नति गरेको हो ।