मानिस अब अदृश्य बन्ने

मानिस अब अदृश्य बन्ने


मिस्टर इन्डिया, ह्यारी पोर्टरजस्ता सिनेमा एउटा खास विशेषताका निम्ति प्रख्यात छ, त्यो हो- त्यसका नायक चाहेको बेला अदृश्य बन्न सक्छन् । कल्पनामा आधारित ती सिनेमाका पात्र कल्पनामा सीमित नरही अब यथार्थमा बदलिने भएको छ ।
अमेरिकी पत्रिका नेसनल ज्योग्राफिकको पछिल्लो अङ्कमा प्रकाशित एक रिपोर्टअनुसार सेकेन्डमै ‘छुमन्तर’ गरेर मानिसलाई गायव गर्ने तरिका पत्ता लगाउने सफलता वैज्ञानिकहरूलाई हासिल भएको छ । सेकेन्डको एक हिस्साभर अवधिका लागि प्रकाशको किरणलाई मोड्न वैज्ञानिकहरू सफल भएका छन्, जो कुनै पनि वस्तुलाई अदृश्य तुल्याउन आवश्यक पर्छ ।
नेसनल ज्योग्राफिकका अनुसार अमेरिकाको कार्नेल विश्वविद्यालयका वैज्ञानिकहरूले सेकेन्डको चार सय खबौर्ं हिस्सा अवधिका लागि प्रकाशको किरणलाई मोड्ने सफलता पाइसकेका छन् । उनीहरूको भनाइ छ- यदि प्रकाश कुनै वस्तुसँग ठक्कर खाएर फिर्ता हुनुको साटो त्यस वस्तुको किनारतिरबाट गुज्रिएर जान्छ भने सम्बन्धित वस्तु लगभग अदृश्य बन्न पुग्छ ।

सभ्यता सिकाउने देशमा यस्तो कर्तुत
बेलायत यस्तो मुलुक हो जो संसारलाई नै सभ्यता र आधुनिकताको पाठ पढाउने देशका रूपमा विख्यात छ । तर, यस्तो देशमा पनि अन्धविश्वासले यतिसम्म जरा गाडेको उदाहरण बेलाबेलामा उजागर हुन्छ कि आङ नै सिरिङ्ग हुनुपर्छ । आफूमाथि जादु-टुना गरेको आशङ्काको भरमा एक बेलायतीले गरेको बर्बर हत्याको घटनालाई यस्तै उदाहरण मान्न सकिन्छ ।
घटनाअनुसार १५ वर्षीय क्रिष्टि बामु नामक किशोर आफ्ना दुई दाजु र दुई दिदीबहिनीका साथ छुट्टी मनाउने उद्देश्यले जर्मनबाट लन्डनस्थित जेठी दिदी म्यागेली बामुकहाँ पुगेका थिए । दिदीको घर पुगेको केही दिनमै म्यागेलीका पति एरिक बिकुबीले क्रिष्टि र उनका दुई दिदीहरूलाई जादु-टुना गर्ने जादुगरको आरोप लगाउन थाले । यति मात्र नभई एरिकले शारीरिक रूपमा आक्रमण नै सुरु गरे । क्रिष्टिलाई हथौडा, छिनो, रडले जथाभावी प्रहार गरी सख्त घाइते पारेपछि पनि एरिकलाई सन्तोष भएन, उसले प्राणको भीख मागिरहेका ती किशोरलाई बाथरूमस्थित पानीको टबमा डुबाएर हत्या गरिदिए ।

मंगल पनि मानिसलायक
मंगल ग्रहबारे खगोलशास्त्री एवम् वैज्ञानिकहरूको चासो लगातार बढिरहेको पाइन्छ भने समय-समयमा यस ग्रहबारेका थप नयाँनयाँ कुरा पनि सार्वजनिक हुने गरेका छन् । यसै क्रममा अन्तरिक्ष वैज्ञानिकहरूले मंगल ग्रहको ठूलो हिस्सा पृथ्वीका जीवहरू रहनलायक रहेको दाबी गरेका छन् । अस्टे्रलियन नेसनल युनिभर्सिटीको अगुवाइमा एक अन्तर्राष्ट्रिय विज्ञानी समूहले पृथ्वीको तापमान तथा प्राणी बाँच्नका लागि आवश्यक अन्य वातावरणको तुलना मंगलको परिस्थितिसँग गर्‍यो र पत्ता लगायो कि अत्यन्त टाढा रहेको उक्त ग्रहको कुल हिस्सा पृथ्वीका जीव रहन लायक छ । उक्त वैज्ञानिक समूहका नेता चार्ली लाइनविवरका अनुसार उनीहरूले करिबकरिब समस्त जानकारी जुटाएर त्यसको समग्र अध्ययन गरे र मंगलको केही हिस्सा रहन लायक रहेको निष्कर्षमा पुगे । स्मरण रहोस्, मंगलको सतहमा औसत तापमान शून्यभन्दा ६३ डिग्री सेल्सियस कम छ । तथापि मंगलको एउटा ठूलै भागचाहिँ प्राणी रहनका लागि लायक रहेको नयाँ अन्वेषणको निष्कर्ष छ ।
र्
गर्भवती महिला होसियार
आमा बन्न लागेका महिलाले सचेत बन्नुपर्ने एउटा खबर अनुसन्धानकर्ताले हालै सार्वजनिक गरेका छन् । नयाँ अध्ययनले शरीरको तापमान वृद्धि र मृत बच्चा या समयअघि नै बच्चा जन्मुनबीच सम्बन्ध हुने देखाएको छ । क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीको नेतृत्ववाला एक अन्तर्राष्ट्रिय अध्येता समूहले चार वर्ष लगाएर गरेको अध्ययनमा महिलाले समयपूर्व तथा मृत बच्चा जन्माउने घटनामाथि गहिरो अध्ययन गरेको थियो । यस अवधिमा जम्मा एक लाख एक हजार आठ सय सत्तरी डेलिभरी केसमाथि समूहले निगरानी राखेकोमा ६ सय ५३ वटा मृत शिशुको जन्म भयो । उनीहरूले जुन-जुन महिलाबाट समयअघि नै या मृत बच्चा जन्मने आशङ्का गरेका थिए, त्यो सत्य सावित भयो । शरीरमा बढेको तापक्रमका आधारमा अध्ययनकर्ताले त्यस्तो अनुमान गरेका थिए । यसका आधारमा वैज्ञानिकहरू गर्भवती महिलाको शरीरमा तापक्रम बढेमा मृत या समयअघि नै बच्चा जन्मन सक्ने निष्कर्षमा पुगेका हुन् ।