युक्रेनको एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसी हमला

युक्रेनको एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसी हमला


किभवरपर नौ सय सर्वसाधारणको शव

रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ । युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाइ सार्वजनिक भएको हो । हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ ।

रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो ।

युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ । कीभमा आक्रमणलाई तीब्र पारिने रुसी रक्षा मन्त्रालयले चेतावनी दिएको छ ।

राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।

यसैबीच युक्रेनको राजधानी शहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाइको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ ।

रुसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ । पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

२४ फेब्रुवरीमा रुसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन् ।