गठबन्धन बैठकमा जुटेन सहमति : भरतपुर महानगरसहित ४ उपमहानगरमा माओवादीको दाबी

गठबन्धन बैठकमा जुटेन सहमति : भरतपुर महानगरसहित ४ उपमहानगरमा माओवादीको दाबी



स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उपमहानगरपालिकामा दाबी गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।

सबै दलहरुले आ-आफ्नो अडान राखेपछि आजको बैठकमा कुनै निष्कर्ष निस्कन सकेन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आ-आफ्नै अडान कायम राखेका छन् ।

समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीले आजको बैठकमा रिपोर्टिङ गर्ने काम भएको बताए । ‘केही ठाउँको रिपोर्टिङ गर्न बाँकी थियो, आजको बैठकमा त्यो भयो, अब भोलि बसेर सिटको बाँडफाँटबारे निर्णय गर्छौं’, उनले भने ।

आ-आफ्नै अडान कायम राखे पनि बैठकमा दाबी प्रस्तुत गर्नुको आधार र जित्न सकिने अवस्थाका विषयमा अध्ययन गरेर समितिले निर्णय गर्ने पुरीको भनाइ छ ।

यस्तै, बैठकबाट आइतबार कुनै टुंगो नलागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । बैठकमा समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँटबारे अन्य सहयात्री दलको धारणा मागेका थिए । कार्कीले बैठकमा तालमेललाई व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारे छलफल भएको बताए ।

बैठकमा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरसहित धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी गरेको छ भने नेकपा (एकीकृत समाजवादी)पोखरा महानगरसहित उपमहानगरमा दाबी गरेको एक नेताले जानकारी दिए ।