चीनमा फेरि बढ्यो कोरोना भाइरसको संक्रमण

चीनमा फेरि बढ्यो कोरोना भाइरसको संक्रमण


चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् ।

चीनका विभिन्न शहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार तीन हजार भन्दा बढी पुगेको सिन्ह्वाले जनाएको छ । सोमबारको तथ्यांकअनुसार त्यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । तीमध्ये सबैभन्दा धेरै सांघाइ शहरमा पाइएको बताइएको छ ।

चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएकामध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण अप्रत्यासित वृद्धि भएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका छन् । यी शहरहरुमध्ये सबैभन्दा बढी संक्रमित अहिले सांघाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ९० प्रतिशतले वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले वृद्धि भएको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ । सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ । कुल सङ्क्रमित मध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।