समग्र देशको शासन प्रणालीको मूल दायित्ववाहीको रूपमा संघीय सरकार सावधान हुन जरुरी छ, अवान्छित चलखेलको ‘खुट्टा भाँच्तै’ विसंगतिहरू हाल-साविक परिष्कार गर्न जरुरी छ ।
✍ नकुल काजी
‘जेन-जेड क्रान्ति’ यो वर्तमानको प्रथम कोशेढुङ्गो हो । त्यस-यता नेपाली जीवनयात्राले एक वर्ष मात्र पनि पार गरेको छैन, तापनि ‘सुख पाइयो’ वा ‘सुख पाइने भयो’ भनेर खुशी होइन, बितेको साढे तीन दशकमा झैं चरम दलीय पक्षपात र मेरो-तेरोको वैभिन्न्य, भ्रष्टाचार, कमिशनखोरी, घुसखोरी, सत्ताधारी र माफिया-बिचौलियासँग राज्य-चालकका मिलिभगत, दलन, हत्या-हिंसा, खसी-बोका सरह मान्छे बिक्री आदिले थिल्थिलो निर्मम कालखण्डमा जस्तो ‘दुःख चाहिं नपाइने दिन फर्केला’ भन्ने आभाषित लक्षणहरू अड्कलेर सबै कित्ता-कान्लाका नेपाली खुशी छन् । किनकि, यति नै ताजा अनुभूतिले मात्र पनि ३५-३६ वर्ष यता जकडिंदै आएको मैदानी नागरिकलाई डसिरहेको निराशाको दग्धी कम भएको अनुभूत नागरिकमा उत्सर्जित छ अहिले । यसैलाई मात्र पनि वर्तमानको ठूला सकारात्मक उपलब्धि मान्न सकिन्छ ।
चार वर्ष अघि मात्र जन्मिएको रास्वपा.लाई नागरिकले सो दलले पहिलो महाअधिवेशन पनि नटेकेको कलिलै अवस्थामा, पैंतीस-छत्तीस वर्षसम्मको रजगजका भाग-भोगले तङ्ग्रिएको र बलियो भएको ढाडस पिटिरहेका, पुराना मैमत्त दलका अहंकारलाई गोता खुवाउनु र झिना झाँकरमा परिणत गरिदिएको घटना त स्वतः अद्वितीय ऐतिहासिक हुँदै हो । मुख्यतः यसलाई बहुमतको उन्माद र एकाधिपत्यको दम्भबाट जोगाएर सो ‘बहुमतको प्राप्ति’-मा निहित मतदाता लोक- भावनाको धरातललाई अविकृत रूपमा बुझ्नसक्नु र कदर गर्नसक्नु मात्र पनि वर्तमान सत्तासीन दलको बुद्धिमता ठहरिने हुन्छ । अतः जनमतले दिएको यो बाटोमा हिंड्दा, संयोगवश वा व्यक्तिगत कमी-कमजोरीवश अथवा प्रतिपक्षी षडयन्त्रवश ठेस लाग्यो भनेर दिग्भ्रमित हुन आवश्यक छैन – ‘लक्ष्य’-को यात्रामा यस्ता ठेसलाई स्वाभाविक मानिन्छ । तर, भूल स्वीकार र सुधार त अपेक्षित हुन्छ नै ।
यसअघि सुशासनको बारम्बार रटान र ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने टुक्का-उखानादि जडित भाषण कसले हजारौंपटक हाँकेको थियो भन्ने त उम्रेदेखि खुम्रेसम्मका नेपालीलाई भलिभाँती थाहा भएकै हुन पर्छ । ‘एफएटीएफ’ नामक अन्तर्राष्ट्रिय संस्थाले देशलाई पटक-पटक र यस पटक फेरि पनि ‘ग्रे लिष्ट’-बाट मुक्त नभएको चेतावनी दिइरहेकै समयमा नैतिक बल स्खलित एवम् छली भाषणकलाका उपर्युक्त राष्ट्रिय कलाकार के भन्दैछन् ? ‘ग्रे लिष्ट’-बाट निर्मुक्तिले यो गरीब देश कहाँ पुग्छ भन्ने उसले सोचेको हो ? र, राज्यको आर्थिक मेरुदण्ड सम्हाल्ने ठाउँमा पुगेको मौकामा देश र देशबासीमाथि गद्दारी गर्ने आफ्नो सहयात्रीलाई जोगाउन अनेक मोड दिन उद्यत भइरहेको छ ? अथवा, डङ्गुर प्रमाणका आधारमा, तिनलाई सरकारले पक्राउ परेको घटनालाई उक्त दम्भी कलाकार कसरी आफ्नो दुर्याेधने अहंकार जिउँदै रहेको देखाउन खोज्दैछ ?
राज्यको महत्वपूर्ण मन्त्री पदमा पुगेका उनै विष्णु पौडेल होइनन् ?-जो २०४९ सालसम्म सुकुम्बासी थिए र सरकारको अनुकम्पाका याचक थिए, हाल ऐय्यासी महलबासी धनकुबेर बनिसकेका पो रहेछन् ! उद्योग-धन्धा, व्यापार-व्यवसाय बिना ३३-३४ वर्ष अघिको गरीब-सुकुम्बासीको त्यत्रो आर्थिक हैसियत कसरी सम्भव भयो ? त्यस्तो तिलस्मी परिवर्तन कसरी आयो ?… यी सब आजको शंकाग्रस्त राष्ट्रिय सन्दर्भ अन्तर्गत खोजिनु कसरी ‘प्रतिशोध’ भयो ? घटिया बिचौलियागिरीका उपल्ला कुख्यात सरदारलाई राज्यशक्तिको आँटले काँध हाल्ने पौडेलको यो हरकत कसरी सम्पत्ति शुद्धीकरणको शंकामा नपरोस् भन्ने उनको पार्टीलाई लाग्यो ?
उपर्युक्त सवालहरूलाई, सो संशयमै बाँधिएका अगुवाहरूको बयानका आधारमा पर्गेल्दा अर्काे जङ्गे सवाल पनि खप्टिंएको छ । यसले उल्टै पूर्ववर्ती शासनकालको रजगज र यथार्थमा ‘चोरले खुट्टा फुत्त तानेको’ उखानलाई जिउँदै उभ्याउने दृश्य प्रत्यावर्तित तुल्याएको नमान्ने ठाउँ खोजेर भेटिंदैन ! त्यसो त दलभित्रकै भाँडभैलो पनि आफ्नै विवशताको आँखीझ्याल बनिरहेकै छँदैछ ! अथवा, यो एउटा ताजा उदाहरणको उद्धरण मात्र हो । अहिले क्रमशः भोकले विक्षिप्त भई देश कोपर्ने जबरजस्तीको ताउर-माउरमा उतारू, यसभन्दा तुरुन्त अघिका, शासकीय मूल मुखियाका पाउभक्तहरू, पनि वाक्क हुने स्वाभाविक समय उत्ति टाढा छ भन्ने बुझ्न मुश्किल छैन ।
कोही पुनः राजनीतिक रक्तचाप बढाएर आफ्नै अचाडू पक्षभेदी बेहोराको प्रवञ्चना परावृत्त गरेर केही तातोपानी लाउने दुस्साहस गर्छ भने गरिरहोस्, अबको समयमा त्यो कामयाब हुँदैन, उफ्रिन्छ-उफ्रिन्छ र थाक्छ; अब उसको भविष्यको पुनर्जन्म सम्भवै छैन !
यसका अतिरिक्त, पैंतीस वर्षदेखिको अटुट कमाउकान्ते शासकीय अभ्यासको धङधङी प्रदेश र स्थानीय सरकार तथा ‘स्थायी सरकार’-को मान्यता-कवच प्राप्त प्रशासनिक संयन्त्रमा पनि ज्यूँकात्यूँ दुर्व्यसनकै रूपमा जीवन्त छ । त्यो दुर्व्यसन अहिलेको ‘के निहुँ पाउँ र कनिका बोकाउँ’ उखान-शैलीमा निहुँ खोजिरहेका उनै आफलिएका पुराना पत्रुहरूका लागि ‘मैदानी नागरिकलाई बिरक्त्याउने’ हतियार बनिरहेको छ । मौजूदा राज्यले यस किसिमको घातक दुर्व्यसनको दच्कोबाट आफ्नो छविलाई धरातलीय परिवेशमा चोखो र सुरक्षित राख्न खातिर ‘कानूनी सुधार गृह’ निर्माणमा ढिलो गरेर अल्मलिनु हुँदैन । कोही पुनः राजनीतिक रक्तचाप बढाएर आफ्नै अचाडू पक्षभेदी बेहोराको प्रवञ्चना परावृत्त गरेर केही तातोपानी लाउने दुस्साहस गर्छ भने गरिरहोस्, अबको समयमा त्यो कामयाब हुँदैन, उफ्रिन्छ-उफ्रिन्छ र थाक्छ; अब उसको भविष्यको पुनर्जन्म सम्भवै छैन !
विशेषतः स्थानीय सरकार र समूल शासकीय-प्रशासकीय संयन्त्र भनेका नागरिकको दैनिकीसँग प्रत्यक्ष सरोकारी हुन् । अहिलेका बखेडाबाजहरूले यिनलाई दुरुपयोग गर्न सक्छन् मात्र होइन, खलनायकीय भूमिका खेलेर भाँडभैलो सिर्जना गर्न सक्छन् । यो, किन पनि भने, आज मौजूद स्थानीय तहका निम्ति भएको चुनाव तिनै पुराना दलहरूको देख-अदेख मिलेमतोले गराएको हो र ती स्थानीय सरकार (तह)का हाल बहाल पदाधिकारी-सदस्यहरू अधिक अधिकांश उस समय देशको हालिमुहालीमा रहेका दलका बलमा विजयी भएकाहरू हुन् । यसर्थ उनीहरू त्यतै बढी बफादार हुनु नितान्त स्वाभाविक ठहर्छ नै । उता, कर्मचारीतन्त्रमा त अझ पुराना दलका पृष्ठपोषकहरूकै बाहुल्य छँदा ती तिनै पुराना इष्टदेवद्वारा निर्देशित भइरहनु गल्ती हुँदैन । यसकारण समग्र देशको शासन प्रणालीको मूल दायित्ववाहीको रूपमा संघीय सरकार सावधान हुन जरुरी छ, तिनका चलखेलको ‘खुट्टा भाँच्तै’ विसंगतिहरू हाल-साविक परिष्कार गर्न जरुरी छ ।
अहिले सरकारलाई बदनाम गराउने, नागरिकलाई उनीहरू र राज्यबीच नासमझमा पार्ने अथवा जन-मनमा सरकारलाई अप्रिय बनाउने तिनै माफिया-बिचौलियाका संरक्षकहरू हुन् । ‘पुराना-पाका जाली-खली’-हरूले यिनै दुई गोठमा ती गोठाला पालिराखेका छन् ! तिनका ‘बानर-सेना’-रूपी आशे-कराँसेका कब्जामा छँदैछन् र तिनको भौतिक-भावनात्मक उपयोगरूपी नून-भूसमा यी दुई गोठका पाल्तुहरू आश्वस्त हुनु स्वाभाविक छँदैछ । यस्ता विषयमा सतर्क र चनाखो हुनै पर्दछ ।
अप्रत्याशित तर अपूर्व जाँगरका साथ जनमतले राज्य-सारथिमा प्रतिष्ठापित दलको पहिलो महाधिवेशनको स्वरूपलाई, पुराना सम्झनाहरूको धरातलमाथि उभिएर हेर्दा, आशान्वित नेपाली थप उत्साही भएका छन् । ठूलो संघर्ष साधेर उभिएको यो दलको प्रथम अधिवेशनको प्रभावी असरदार प्रस्तुतिले यसका विरुद्ध अप्राकृतिक गुल्चाइँ गरिरहेका पुराना-खलीहरू तिल्मिलाउने स्थिति त बनेकै छ ! थप्पड भेटेको यो बेला झर्किनु र दागा धर्नु त अस्वाभाविक पनि हुँदैन । यद्यपि नेपाली लोकले भौतिक-भावनात्मक अभ्यासमै ‘समृद्ध नेपाल’-का ‘सुखी नेपाली’ बन्न पाउलान् इत्यादि यकिन गरेर त्यो ‘विशल्य नेपाल’-को कैरन त ‘भोलि’-को विषय न हो !
बस्… आज यत्ति नै ।
प्रतिक्रिया