पाँचखालको नगरप्रमुखका लागि काङ्ग्रेसद्वारा दश जनाको नाम सिफारिस

पाँचखालको नगरप्रमुखका लागि काङ्ग्रेसद्वारा दश जनाको नाम सिफारिस


कार्यकर्ताले उठाए खरेललाई दोहोऱ्याउन नहुने आवाज

काभ्रेपलान्चोक/ नेपाली काङ्ग्रेसले पाँचखाल नगरपालिकाको मेयरका लागि १० जनाको नाम सिफारिस गरेको छ । नगर कार्यसमितिको बुधबार बसेको बैठकले मेयरका लागि १० जना र उपमेयरका लागि आठ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएकाहरूमा हालका मेयर महेश खरेलसमेत रहेका छन् । त्यस्तै, मेयरका पिए रहेका पाँचखाल वडा नम्बर ३ का सभापति राजन कार्की, उद्योगी प्रल्हाद थापा, पूर्व नगरसभापति गणेश अधिकारी, सविधानसभा निर्वाचनमा उम्मेदवार रहेका कुमार लामिछाने, उद्योगी उमेश बानियाँ, क्षेत्रिय सभापति हेमकुमार लामा, विद्यार्थी नेता निराजन लुइँटेल, नन्दुप्रसाद दुलाल र अर्थविज्ञ चन्द्रमणि आचार्यसमेत मेयरमा सिफारिस भएका छन् ।

पाँचखालका वर्तमान मेयर महेश खरेलले जनताको काम कम तर मिडियावाजी ज्यादा गरेपछि उनकै पार्टीका नेता–कार्यकर्ता क्रुद्ध बनेका छन्, कृषिनगरको रूपमा रहेको पाँचखालमा किसानको पक्षमा ५ वर्षसम्म सिन्को भाँच्न नसकेका खरेलसविरुद्ध उनकै पार्टीका हस्तीहरूले मोर्चा कसेर कुनै हालतमा उनलाई फेरि टिकट दिन नहुने भन्दै लविङ शुरु गरेका छन् । सेल्फी लिएर चर्चित बन्न खोज्ने र जथाभावी मिडियाबाजी गरेको, किसान र जनताको पक्षमा काम नगरेको, काङ्ग्रेसका कार्यकर्ता भन्दा पनि ‘कमाउनिष्ट’का कार्यकर्तानिम्ति प्रिय बनेका खरेलले पछिल्ला दिनमा आफ्नो साख गिराउँदै लगेको र उनले टिकट पाउँदा पाँचखाल नगरपालिकामा काङ्ग्रेस नराम्रोसँग हार्ने आँकलन हुन थालेको छ ।

पाँचदलीय गठबन्धनका कारण काङ्ग्रेसलाई नै क्षति पुग्ने भनी देशब्यापी आवाज उठिरहेको परिवेशमा स्थानीय काङ्ग्रेस कार्यकर्ताहरूले कुनै हालतमा खरेललाई पुनः स्वीकार गर्न नसकिने जनाएका छन् ।

त्यस्तै, पाँचखालको उपमेयरका लागि बद्रीप्रसाद खकुरेल, सावित्री लामिछाने, लक्ष्मी दनुवार, शान्तिलक्ष्मी श्रेष्ठ, सुनिता तामाङ, कुसुम दुलाल, मनकुमारी दनुवार र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरिएको छ । लक्ष्मी दनुवार अहिलेकी उपप्रमुख हुन् ।

बुधबार बसेको नगर समिति बैठकले उल्लिखित नामहरू सिफारिस गरेर प्रदेश पठाएको हो ।