- कपिलबस्तु प्रतिनिधि
कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेलसहित एक सय भन्दा बढी व्यक्ति जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपाल कपिलबस्तु जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा पौडेलसहित सय बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।
वडाध्यक्ष पौडेललाई लुम्बिनी प्रदेशका भौतिक पूर्वधार मन्त्री सहसराम यादवले टीका लगाइ पार्टी प्रवेश गराएका हुन् । पौडेल पुर्वमन्त्री बृजेश कुमार गुप्तासहित चैत्र १४ गते नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तु नगरपालिकाको मेयर पदका आकाङ्क्षी वडाध्यक्ष पौडेल एमालेले धोका दिने सम्भावना भएपछि जसपा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा निकै भावुक बनेका नेता पौडेलले आँखाभरि आँशु पारेर भने, ‘नेता बृजेशकुमार गुप्तासैगै २८ वर्ष काम गरेँ, अहिले छोड्दा निकै नरमाइलो लागिरहेको छ । मेरो मुल्यांकन भएन, उचित स्थान दिइएन, त्यसैले म अब जनता समाजवादी पार्टीमा लागेँ ।’
जसपा प्रवेश गरेसँगै कपिलवस्तु नगरपालिकाको मेयर पदका लागि पौडेल जसपाबाट उम्मेदवार पक्का हुने भएका मानिएको छ ।
पार्टी प्रवेश कार्यक्रममा जसपाका प्रदेश संयोजक दानबहादुर चौधरी, बजरंगी चौधरी, शिवलाल यादव, राम नेवास यादव, साधिका यादव, इरफान खान, सन्तोष कुमार पाण्डेय, सिताराम यादव, जुबेर अहमद खाँ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया