पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि तरङ्ग, सम्भव छ गण्डकीमा फेरि एमालेको सरकार ?

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि तरङ्ग, सम्भव छ गण्डकीमा फेरि एमालेको सरकार ?


नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बिहीबार पोखराको मेयररउपमेयरको टिकटबारे छलफल हुँदा सांसदलाई रोक्ने प्रयास गरे। उनले एउटा अभिव्यक्ति दिएका छन्, ‘जुनसुकै बेला गण्डकीको सरकार ढल्न सक्छ र, एमालेले त्यसको नेतृत्व गर्नुपर्छ । त्यसैले सांसदलाई मेयरको टिकट दिन हुँदैन ।’ उनको यो अभिव्यक्तिले गण्डकी प्रदेशमा तरङ्ग आएको छ ।

एमालेनिकट केही नेताहरुले नै उनको अभिव्यक्ति भन्दै ४८ घण्टाभित्र सत्तारुढ दलका ३ सांसदले राजीनामा दिन लागेको सामाजिक सन्जालमै लेखेका छन् । ‘नेकपा एमाले सचिवालय बैठकमा विशेष श्रोतका अनुसार उपमहासचिव कमरेड पृथ्वीसुब्बा गुरूङले ४८ घण्टाभित्र अन्य दलका ३ जना सांसदले राजीनामा दिने र आफ्नो नेतृत्वमा सरकार बन्ने रिपोर्ट गर्नुभएअनुसार पार्टीले कुनै प्रदेश सांसदलाई मेयर उठाउन नहुने प्रस्ताव गर्नुभएको छ,’ एमाले निकट इन्जिनियरहरुको संस्था पीनका केन्द्रीय नेता ध्रुव भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

उपमहासचिव गुरुङले समेत जुनसुकै अवस्थामा सरकार ढल्न सक्ने बताए । ‘सर्वोच्चले विकल्प रहँदासम्म सरकार बन्न दिनुपर्छ र चुनावमा जान दिनुहुँदैन भनेर फैसला गरेको छ । त्यो हेर्दा गण्डकीमा छिटै एमालेको सरकार बन्न सक्छ,’ उनले भने, ‘अहिले सांसदलाई राजीनामा गराएर मेयरमा पठाउँदा समस्या हुन्छ । त्यसैले सांसदलाई टिकट दिन हुँदैन ।’ तर एमालेले नै भरतपुरमा बागमति प्रदेश सांसदलाई मेयर टिकट दिने पक्का भएको छ । उनले सांसदबाट राजीनामा दिइसकेका छन् ।

‘बागमतीमा जति गरे पनि एमालेको सरकार बन्दैन । गण्डकी र लुम्बिनीमा त्यो सम्भावना जिवित छ,’ उनले अघि भने, ‘अरु प्रदेशमा जेसुकै होस् । लुम्बिनी र गण्डकी विशेष ख्याल गर्नुपर्छ ।’

तर उनको अभिब्यक्तिले खासै प्रभाव पार्ने सम्भावना किन देखिँदैन भने गण्डकी सरकार संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको हो । संविधानतः यही सरकार अन्तिम हो । यदि यो सरकार ढले संसद् विघटन हुन्छ र ६ महिनाभित्र चुनावको मिति घोषणा गरिन्छ ।

उनको अभिव्यक्तिपछि सत्तारुढ दलहरु सचेत भएका छन् । दलका नेताहरुले आफ्ना सांसद खोजी गर्न थालेका छन् । यहाँ जेठ २९ गते गुरुङ नेतृत्वको एमाले सरकार ढलेर गठबन्धनको सरकार बनेको हो, तर निकै झिनो बहुमतमा । ५९ सांसद रहेको यहाँ सरकारको समर्थनमा सभामुखसहित ३२ सांसद छन् । एक जनाले छोड्नेवित्तिकै सरकार ढल्छ ।

पोखराको मेयरमा एमालेबाट प्रदेश सांसदहरु कृष्णबहादुर थापा र राजीव पहारीको नाम केन्द्रमा सिफारिस भएको छ । उपमहासचिव गुरुङले थापालाई टिकटबाट रोक्न फण्डा गरेको आरोप एकाथरीको छ भने अर्कोथरीले समर्थन गरेका छन् । यहाँको मेयर उपमेयरमा ३ ∕ ३ जनाको नाम मतदान प्रक्रियाबाट टुंग्याउन लागिएकोमा अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको हो ।

कास्कीमा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकराव छ । थापा अधिकारी गुटमा खुलेका कारण गुरुङले उनलाई रोक्न लागेको दाबी उक्त पक्षको छ ।