‘एक्स्पो’ उद्घाटनका लागि राष्ट्रपति भण्डारी चितवन जाँदै

‘एक्स्पो’ उद्घाटनका लागि राष्ट्रपति भण्डारी चितवन जाँदै


राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन पुग्दै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन जान लाग्नुभएको हो ।

नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्दैछ । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालका अनुसार राष्ट्रपति भण्डारीबाट शुक्रबार दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनका अनुसार एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिनुका साथै नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुऱ्याउने तथा अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्नेछ ।

यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ ।