यस्तो छ नेकपा एमालेको नयाँ पार्टी कार्यालय

यस्तो छ नेकपा एमालेको नयाँ पार्टी कार्यालय


नेकपा एमाले आजबाट आफ्नै भवनमा सरेको छ । थापाथलीस्थित भाडाको घरमा कार्यालय स्थापना गरेको एमाले आजबाट ललितपुरको च्यासलस्थित नयाँ पार्टी कार्यालयमा सरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलापत्र अनावरण गर्दै पार्टी कार्यालयको औपचारिक उद्घाटन गरेका छन् । एक वर्षअघि मात्र थापाथलीमा पार्टी कार्यालय राखेको एमालेले आजदेखि च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सरेको हो ।

नयाँ पार्टी कार्यालय पाँच वर्षका लागि अनुबन्धित गरिएको हो । त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग अनुमति मागिएको एमाले उपमहासचिव विष्णुप्रसाद रिमालले जानकारी दिए । वार्षिक रूपमा निश्चित रकम प्रतिष्ठानलाई दिइनेगरी सम्झौता गरिएको उनको भनाइ छ ।

नयाँ कार्यालय भवनलाई प्रविधिमैत्री बनाइएको छ । फराकिलो पार्किङ क्षेत्र र आकर्षक बगैँचा रहेको नयाँ पार्टी कार्यालयको भुइँ तलामा कार्यालय सचिवको कार्यकक्ष र स्वागत कक्ष राखिएको छ ।

त्यस्तै पहिलो तलामा केन्द्रीय सल्लाहरका परिषद्, संगठन विभाव, प्रचार तथा प्रकाशन विभाग, परराष्ट्र मामिला विभाग प्रमुखसँगै महासचिव र अध्यक्षको कार्यकक्ष राखिएको छ । सोही तलामा पुष्पलाल स्मृति हल पनि बनाइएको छ ।

त्यस्तै दोस्रो तलामा केन्द्रीय विभागहरू, सचिवको क्याविन, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगका प्रमुखसँगै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, उपमहासचिवका कार्यकक्ष पनि बनाइएको छ ।

सबैभन्दा माथिल्लो तलामा अध्यक्षको कार्यकक्ष बनाइएको छ । त्यस्तै उपाध्यक्ष र महासचिवको कार्यकक्ष पनि सबैभन्दा माथिल्लो तलामा बनाइएको छ । पश्चितपट्टी बनाइएको हलबाट अध्यक्षले लाइभ सम्भोधन गर्ने व्यवस्था मिलाइएको छ । अत्याधुनिक सूचना प्रविधिको विकास गरेर बनाइएको उक्त हलबाट पार्टी अध्यक्षले लाइभ सम्बोधन गर्ने रिमालको भनाइ छ ।