घोषणापत्रमार्फत् एमालेले जनायो यस्ता प्रतिबद्धता

घोषणापत्रमार्फत् एमालेले जनायो यस्ता प्रतिबद्धता


नेकपा एमालेले विपन्न परिवारलाई घरायशी प्रयोगको लागि विद्युत निशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।

‘प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलव्ध गराउने । विपन्न परिवारलाई घरायशी प्रयोगको विद्युत निशुल्क उपलव्ध गराउने,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।

विद्युत उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय बृद्धि र पर्यावरण संरक्षण गर्ने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।

‘ऊर्जा उत्पादन र वितरणमा सामुदायिक, सहकारी एवं पालिकाको सहभागिता सुनिश्चित गर्नेगरी आवश्यक कानूनी र संरचनात्मक प्रबन्ध गर्ने । नेपाल विद्युत प्राधीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय र सहकार्य गर्ने,’ घोषणापत्रमा भनिएको छ ।

पालिकामा सञ्चालित जलविद्युत आयोजनाबाट स्थानीय समुदायलाई साझेदार र लाभान्वित बनाउन पहल गर्ने पनि एमालेले जनाएको छ ।

यस्तै, स्थानीय तहका प्रत्येक वडामा स्वास्थ्यचौकी निर्माण गरी सञ्चालन गर्ने, पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने एमालेको प्रतिबद्धता छ ।

आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचार, विमा, स्वास्थ्य पूर्वाधार र जनशक्तिको समष्टिगत व्यवस्थामार्फत स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने दाबी पनि एमालेले गरेको छ ।

प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण र सञ्चालन गर्ने, त्यसका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्ने घोषणापत्रमा उल्लेख छ ।

निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँगको पहल, समन्वय र सहकार्यमा निर्मित अस्पतालद्वारा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुने कुरा सुनश्चित गर्ने पनि घोषणापत्रमा लेखिएको छ ।

स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन् स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गंभीर रोगको पूर्वपरिक्षण (स्क्रिनिङ) र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने प्रतिबद्धता एमालेले गरेको छ ।

यसैगरी प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गतासहितका व्यक्तिको स्वास्थ्य विमा निशुल्क गर्ने एमालेको घोषणापत्रमा लेखिएको छ ।

स्पाइनल इञ्जुरीका कारण अपाङ्गता भएका लगायत गंभीर प्रकृतिको अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा उनीहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलव्ध गराउने व्यवस्था गर्ने प्रतिवद्धबता एमालेले जनाएको छ ।