- कपिलवस्तु प्रतिनिधि
नेपाली कांग्रेसले कपिलवस्तुका १० वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दलबीच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिस्किएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो ।
कपिलवस्तुको ६ नगरपालिका र ४ गाउँपालिकामा लड्ने उम्मेदवारको नाम टुंगो लगाएर दशवटै पालिकामा कांग्रेस एक्लै चुनाव लड्न लागेको हो ।
कांग्रेस कपिलवस्तु प्रवक्ता ईश्वरी पाण्डेयका अनुसार कपिलवस्तु नगरपालिकामा मेयरमा किरण सिंह र उप मेयरमा नसरिम खातुन, बाणंगगा नगरपालिकामा मेयरमा रविराज आचार्य र उप मेयरमा तारावती थारु, बुद्धभूमि नगरपालिकामा केशव कुमार श्रेष्ठ र मीरा थारु, महाराजगंज नगरपालिकामा मेयरमा अब्दुल कलाम र उप मेयरमा शोभावती कुर्मीले टिकट पाएका छन् ।
यस्तै, कृष्णनगरमा मेयरमा रजतप्रताप शाह र उप मेयरमा आरतीदेवी कुर्मी चौधरी तथा शिवराज नगरपालिकामा मेयरमा हुमकान्त खनाल र उप मेयरमा शारदा कार्की रायमाझीले टिकट पाएका छन् । पार्टी जिल्ला सभापति तथा मेयरका उम्मेदवार कलाम र उपमेयर शोभावती यसअघि २०७४ सालमा समेत निर्वाचित मेयर र उपमेयर हुन् ।
यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति केशवकुमार श्रेष्ठ र मीरा थारु यसअघिको निर्वाचनमा मेयर र उपमेयरमा विजयी बनेका थिए ।
कपिलवस्तु नगरपालिका मेयर किरण सिंह पनि यसअघि मेयरमा जितेका उम्मेदवार हुन् । २०७४ सालको निर्वाचनमा स्वतन्त्र मेयर जितेका रजतप्रताप शाह ३ महिनाअघि कांग्रेसमा प्रवेश गरी मेयरमा उम्मेदवारी दिँदै छन् ।
उता नेपाली कांग्रेस कपिलवस्तुले चारवटै गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम आइताबार नै टुंगो लागएको थियो ।
चन्द्रौटामा भएको बैठक पछि सुद्धोदन, मायोदेवी र विजयनगर गाउँपालिकाको प्रमुख र उपप्रमुखको नाम टुंगो लागेको कांग्रेसका जिल्ला प्रवक्ता ईश्वरी पाण्डेयले जानकारी दिए । मायादेवी गाउँपालिको प्रमुखमा वलीउद्दीन मुसलमान र उपप्रमुखमा सरस्वती यादव, सुद्धोदन गाउँपालिकाको प्रमुखमा रामनयन यादव र उपप्रमुखमा सुधादेवी पाण्डेय र विजयनगर गाउँपालिको प्रमुखमा रफिक मुसलमान र उपप्रमुखमा निशा थारुले टिकट पाएका हुन् ।
यस्तै, यशोधरा गाउँपालिकामा अनुप पाण्डेय प्रमुख र प्रेमलता भट्ट उपप्रमुखमा टिकट पाएका छन् । यसअघि पनि उम्मेदवार बनेको बलीउद्दीन थोरै मतले मात्र पराजित भएका थिए ।
यस्तै यसअघि मधेसी जनअधिकार फोरमबाट लडेका रामनयन यादव पनि झिनो मतले चुनाव हारेका थिए । सुधादेवी पाण्डय भने यसअघिको निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया