देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस, एमाले र मल्ल पक्षबीच तालमेल

देउवाकै गृहजिल्लामा फुट्यो कांग्रेस, एमाले र मल्ल पक्षबीच तालमेल


चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजित भएको छ ।

नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा कांग्रेस विभाजित भएको हो । विभाजनसँगै स्थानीयतहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)ले डडेल्धुरामा छुट्टाछुट्टै उमेदवारी दर्ता गर्ने भएका छन् ।

नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेडेल्धुरा जिल्लाको प्रदेश खबाट निर्वाचित प्रदेश सभा सदस्य कर्ण मल्लपक्ष नेपाली कांग्रेस बीपीबाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति देउवाले अन्तिमसम्म पनि गृहजिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफूहरु नेपाली कांग्रेस (बीपी)बाट स्थानीयतहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।

‘नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रिय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस (बीपी)बाट चुनावी मैदानमा जाने तयारी गरेका हौँ’, महिला नेतृ कमला बिष्टले बताइन् ।

जिल्लाका सातवटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरु संग तालमेलको प्रयासहरु पनि भइरहेकाले भोलि सोमबार मात्रै उमेदवारी दर्ता गरिने नेपाली कांग्रेस विपीका जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।

नेपाली कांग्रेस बाहेकका जुनसुकै दलहरुसंग तालमेल हुनसक्ने संयोजक हमालको भनाइ थियो ।

देशभरी गठबन्धनमा रहेका दलहरुले डडेल्धुरा जिल्लामा मित्रवत प्रतिस्पर्धा गर्ने भनेर सहमति गरेपश्चात नेपाली कांग्रेस छाडेर कांग्रेस बीपीबाट छुट्टै उमेदवार तय गरेपछि डडेल्धुरा कांग्रेस संकटमा परेको छ ।

यसैक्रममा दुई पक्षमा विभाजित भएको डडेल्धुरा कांग्रेसको एक पक्षले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ।

पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस विपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।

आइतबार भएको दुईपक्षीय बैठकले जिल्लाका सातओटै स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णयसँगै भागबन्डा गरेको छ । जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस विपीबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन् ।

परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुखमा कांग्रेस विपीका उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिने निर्णय भएको छ ।

भागेश्वर गाउँपालिकाको अध्यक्ष भने नेकपा एमालेलाई र उपाध्यक्ष कांग्रेस बीपीलाईदिइने भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी कांग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा विपी कांग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन् ।

उता गन्यापधुरामा कांग्रेस बीपीबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमति भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस विपीका जिल्ला जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका छन् ।

‘एमाले र बिपी कांग्रेसबीचको गठबन्धन अस्वीकार्य’

यसैबीच, डेल्धुरामा दुई भागमा बाँडिएको नेपाली कांग्रेसको एक पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि नेकपा एमालेका नेता तथा अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली कांग्रेस मल्ल समूहबीच अमरगढी नगरपालिकामा गरिएको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

ओझाले बिना परामर्श गरिएको कथित सहमतिकाविरुद्ध सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । कांग्रेसमा देउवासँग पहिलैदेखि रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बिपीमा प्रवेश गरी एमालेसँग गठबन्धन गरेको हो ।