म्याक्रोँ पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन

म्याक्रोँ पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि फ्रान्समा प्रदर्शन


इम्यानुएल म्याक्रोँ पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि राजधानी पेरिसमा प्रदर्शनहरू सुरु भएका छन् । असन्तुष्ट समूहले गरेका प्रदर्शनहरू नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ ।

मध्यपेरिसमा प्रदर्शनकारीहरूमाथि दंगा पुलिसले लाठी प्रहार गरेको र अश्रुग्यास छर्केको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

म्याक्रोँले अति दक्षिणपन्थी नेता मारिन ली पेनलाई पराजित गर्दै दोस्रो पाँच वर्षे कार्यकालका लागि विजयी भएका थिए । उनको पुनः विजयले फ्रान्सलाई ठूलो राजनीतिक उथलपुथलबाट जोगाएको केहीको विश्लेषण छ । तर कतिपय भने पछिल्लो परिणामबाट आक्रोशित बनेका छन् ।

म्याक्रोँले सहज मतान्तरले जिते पनि दुबै उम्मेदवारप्रति मतदाताको तीब्र असन्तुष्टि थियो । दुबै उम्मेदवारप्रति असन्तुट जनाउँदै पहिलो चरणको मतदान र आइतवार दोस्रो चरणको निर्वाचन भइरहँदा विद्यार्थीहरूले पेरिसको सोर्बोन र अन्य विश्वविद्यालयबाहिर विरोध प्रदर्शन गरेका थिए ।