काठमाडौं महानगरपालिकाको प्रमुखमा स्थापितद्वारा उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्थापितद्वारा उम्मेदवारी दर्ता


photo: rss

स्थानीय तह २०७९ का लागि काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का तर्फबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् । रत्नपार्कस्थित शान्तिबाटिकाबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रियसभा गृहमा पुगी उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै, एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएकी छन् ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुखका उम्मेदवार स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै उपप्रमुखका उम्मेदवार डङ्गोलले काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने बताइन् ।

एमालेका तर्फबाट प्रमुख उपप्रमुखका उम्मेदवारले मनोनयन दर्ता गरेसँगै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखलगायतका उम्मेदवारले मनोनयन दर्ताको तयारी गरिरहेका छन् ।

उतौ, हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरूमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा बाजागाजा र र्‍यालीसहित पुगेर उम्मेदवारी दर्ता गराएको हो ।

एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् ।

त्यसैगरी उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट छन् । एमालेले हेटौंडामा रहेको १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गराएको छ ।

मनोनयन दर्तापछि बोल्दै मेयरका उम्मेदवार पौडेलले गठबन्धनले अस्थिरता ल्याउने भएकाले आम मतदाताले गठबन्धनको विरुद्धमा मतदान गर्ने दावी गरे ।

‘हेटौंडाको १९ वटै वडालाई समानुपातिक विकास गरेर उपमहानगरपालिकालाई महानगरको रुपमा विकास गर्न पहलकदमी अगाडि बढाउने छौं ,’ उनले भने ।