स्वतन्त्र उम्मेदवारको बाढी

स्वतन्त्र उम्मेदवारको बाढी


देशभर पाँच हजारभन्दा बढीले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसअघिको निर्वाचनभन्दा यो पटक स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको छ र, उम्मेदवारहरूमा आत्मविश्वासको मात्रा पनि निकै वृद्धि भएको पाइएको छ । देशको राजधानी शहर काठमाडौंमा दर्जन बढी स्वतन्त्र व्यक्तिले प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । तीमध्ये मेयरका प्रत्याशी सुमन सायमी, ख्यातिप्राप्त पुराना पत्रकार नीमकान्त पाण्डे र ऱ्यापर बालेन शाहको नाम विशेष चर्चामा छ ।

सुमन सायमी धेरै लामो सयमदेखि काठमाडौंको मौलिकता संरक्षणको निम्ति सक्रिय रहँदै आएका व्यक्ति हुन् । जथाभावी सडक विस्तारका नाममा स्थानीय बासिन्दालाई घरबारविहीन बनाउने सरकारी प्रयासका विरुद्ध पनि सुमन सङ्घर्षरत छन् । उपत्यकाको संस्कृति, धर्म, परम्परा, मठ, मन्दिर, धारा र पाटी-पौवा जोगाउँदै विकास र समृद्धि खोज्नुपर्छ भन्ने मान्यताका सुमन सायमी कालिमाटीका एक चर्चित राजनीतिक परिवारका सदस्य हुन् ।

सुमनको अभियानमा शुरुदेखि नै संलग्न रहँदै आएकी विद्या श्रेष्ठ महर्जनले स्वतन्त्र उपप्रमुखको रूपमा उम्मेदवारी दिएकी छिन् । विद्या श्रेष्ठ महर्जन आफ्नो विषयमा अब्बल विदुषी मानिन्छिन् र, विभिन्न गैह्रसरकारी संस्थामा आवद्ध रहेर समाजसेवाका विविध कार्यमा पनि विद्याको संलग्नता रहिआएको थियो । त्रिशुल चुनाव चिह्न भएको नवगठित दल एकीकृत शक्ति नेपालले काठमाडौंको प्रमुख र उपप्रमुखमा सुमन र विद्यालाई साथ-सहयोग दिने निर्णय गरेको छ ।

त्यस्तै, सामाजिक अभियन्ता पूर्ण महर्जनले काठमाडौं मनपा वडा नं. १३ मा वडाध्यक्षको उम्मेदवारी दिएका छन्, पूर्णलाई पनि एकीकृत शक्तले साथ दिने निर्णय लिएको छ । ललितपुर महानगरमा स्वतन्त्र उम्मेदवार बनेका सरिना श्रेष्ठ (प्रमुख) र राजन खड्का (उपप्रमुख) तथा वडा नं. १० का स्वतन्त्र उम्मेदवार नरसिंह ब्यञ्जनकारलाई एकीकृत शक्तिले समर्थन गर्ने भएको छ ।

त्यसैगरी, बनेपा नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका विरोचन श्रेष्ठ र ललितपुरको महालक्ष्मी नगरपालिकामा प्रमुखका स्वतन्त्र उम्मेदवार चिरीबाबु महर्जनलाई एकीकृत शक्ति नेपालले समर्थन गरेको छ । ललितपुर मनपा वडा नं. २५ का ऋषभ रिसाललाई पनि वडाध्यक्षमा समर्थन गर्ने भएको छ । नवलपुरको कावासोती नगरपालिका प्रमुखमा माधवप्रसाद लम्साल, धादिङको धुनीबेसी नगरपालिकाको प्रमुखमा एकराज गजुरेल (कुवेर), धनुषाको जनकपुर नगरपालिका प्रमुखमा बलराम महतो, गैंडाकोट नगरपालिका वडा नं. १० मा वडाअध्यक्षका उम्मेदवार डा. विष्णुप्रसाद सुवेदी, बर्दियाको गुलरिया नगरप्रमुखकी स्वतन्त्र उम्मेदवार दिपिका शर्मा र बाह्रबर्दिया नगरपालिकाको वडा नं. १० को वडाअध्यक्षका उम्मेदवार विनोद बमलाई एकीकृत शक्ति नेपालले साथ सहयोग गर्ने भएको छ ।

चितवनको भरतपुर महानगरमा प्रमुख पदमा काङ्ग्रेसको विद्रोही उम्मेदवार बनेका नेता जगन्नाथ पौडेललाई समर्थन गर्ने या के गर्ने भन्ने बारेमा एकीकृत शक्ति नेपालभित्र छलफल चलिरहेको बुझिएको छ ।

ललितपुर महानगरका ६ वटा वडाहरूमा गत निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरू विजयी बनेका थिए । यसपटक विजयी ६ वटै वडाअध्यक्षहरूलाई पार्टीले टिकट नदिएपछि ६ जना नै आ-आफ्ना वडामा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार बनेका छन् । यसरी विद्रोही उम्मेदवार बनेपछि काङ्ग्रेसका उम्मेदवारलाई निकै मुस्किल पर्ने देखिएको छ । शहरी तथा अलिक चेतनशील ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूको चाप र उनीहरूप्रतिको आकर्षण हेर्दा यसपटक नभए अर्को निर्वाचनसम्ममा स्वतन्त्र उम्मेदवारहरू नै मतदाताको रोजाइमा पर्न सक्ने सम्भावना बढाएको छ ।

एकीकृत शक्ति नेपालले विकास कार्यलाई पारदर्शी र निष्पक्ष तुल्याउन, पार्टीको संरक्षणमा हुने भ्रष्टाचार अन्त्य गराउन र राजनीतिक रूपले विभाजित समाजलाई जोड्न स्थानीय सरकार गैह्रदलीय हुनुपर्ने र त्यसनिम्ति स्वतन्त्र उम्मेदवारलाई साथ–सहयोग र समर्थन गर्ने निर्णय लिएको छ ।