नेताको नाताका यी उम्मेदवार

नेताको नाताका यी उम्मेदवार


Representative image

स्थानीय तहमा पनि केही नेताहरूले आफ्ना परिवारका सदस्यहरूलाई उम्मेदवार बनाइ छाडे । नेताहरूमध्ये परिवारका सदस्य तथा नातेदार र नातेदार नपाए नगदका आधारमा अवसर उपलब्ध गराउने ‘अग्रज नेता’का रूपमा प्रचण्ड र शेरबहादुरलाई लिइन्छ । प्रचण्ड यसपटक पनि भरतपुर महानगरको प्रमुखमा आफ्नी छोरी रेणुलाई उम्मेदवार बनाउन सफल भए । उनले विदुर नगरपालिकामा पूर्व बुहारी र पोखरा महानगरको उपप्रमुख आफ्नो बुहारी सिर्जना त्रिपाठीलाई उम्मेदवार बनाउन प्रयास गरेका थिए ।

जसपा नेता उपेन्द्र यादवले विराटनगर महानगरको उपप्रमुखमा आफ्नो छोरा अमरेन्द्र यादवलाई गठबन्धनको उम्मेदवार बनाउने सफलता पाएका छन् । गत निर्वाचनमा विजय सुनिश्चित नहुँदा प्रमुख पदका निम्ति उमेश यादवलाई उम्मेदवार बनाएका उपेन्द्रले यसपटक गठबन्धनबाट जित्ने सम्भावना देखेपछि आफ्नै छोरालाई उपमेयरको उम्मेदवार बनाइदिएका हुन् । त्यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणलाई उम्मेदवार बनाइएको छ । भाइलाई टिकट दिलाउन ‘दाइ’ गृहमन्त्रीले मूख्य भूमिका निर्वाह गरेको भए पनि रामकृष्ण स्वयम् पनि रुपन्देहीमा काङ्ग्रेसको नेताकै रूपमा चिनिन्छन् । उनले लामो समयदेखि काङ्ग्रेसको संगठन विस्तारमा योगदान पुऱ्याउँदै आएका थिए ।

काठमाडौं महानगरको प्रमुखमा पूर्व विद्यार्थीनेतृ एवम् ०३६ सालको जनमत सङ्ग्रहमा बहुदल प्रचार समिति गोर्खाको प्रमुख भएर काम गरेकी सिर्जना सिंहलाई काङ्ग्रेसले उम्मेदवार बनाएको छ । विद्यार्थीकालमा शङ्करदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कोषाध्यक्षमा लडेर पम्फा भुसालको टीमलाई परास्त गर्ने सिर्जनाको प्रचार काङ्ग्रेसको नेतृ भन्दा पनि गणेशमान सिंहकी बुहारी र नेता प्रकाशमान सिंहको पत्नीका रूपमा मात्र भइरहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदारहँदै प्रकाशमान सिंहसँग विवाह भएपछि सिर्जनाले सक्रिय राजनीति स्थगित गरी पतिको राजनीतिक कार्यलाई सहयोग गर्दै आएकी थिइन् । अहिले महानगर प्रमुखको उम्मेदवार बनेर उनी पुनः राजनीतिमा सक्रिय भएकी छन् ।