नेपाली काङ्ग्रेसकी नेतृ अम्बिका बस्नेतले पार्टीको केन्द्रीय सदस्य पदबाट राजीनामा दिनुभएको छ । बागमती प्रदेशमा उम्मेदवार चयनका निम्ति गठित समितिमा समेत रहनुभएकी बस्नेतलाई सामान्य जानकारीसमेत नगराई पार्टीले टिकट वितरण गरेपछि उनी असन्तुष्ट बनेकी हुन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्नुहुने नेतृ बस्नेतलाई गोकर्णेश्वर नगरका लागि उम्मेदवार चयन गर्दासमेत सुइँकोसम्म नदिएको बुझिएको छ । उपेक्षा र अपमानको पराकाष्टा भएपछि नेतृ बस्नेत पदबाट राजीनामा दिइ टेलिफोन सम्पर्कमा समेत बस्नुभएको छैन । उहाँलाई राजीनामा फिर्ता लिइदिन आग्रह गर्न घरमा पुगेका शुभचिन्तकहरूलाई बस्नेतले आफूले फिर्ता लिनका निम्ति राजीनामा नदिएको स्पष्ट गर्दै पार्टीमा विधि र पद्धति नबस्दा काम गर्न मुस्किल परिरहेको जानकारी गराउने गर्नुभएको छ । कसले टिकट पाउनुपर्छ भन्ने कुरामा भन्दा पनि कसरी उम्मेदवार चयन हुनुपथ्र्यो भन्ने विषयमा आफ्नो चासो रहेको पनि नेतृ बस्नेतले स्पष्ट गर्नुभएको छ ।
राजीनामाका सम्बन्धमा कुराकानी गर्न बस्नेतसँग घटना र विचारले उहाँलाई सम्पर्क गर्न खोज्दा फोनको स्वीच अफ गरिएकोले कुराकानी हुन सकेन । बस्नेतको असन्तुष्टिलाई देउवाले कसरी सम्बोधन गर्ने हुन्, सोबारे यकीन हुन सकेको छैन । तर उहाँको राजीनामा स्वीकृत हुने विश्वास भने कसैले पनि गरेका छैनन् ।
प्रतिक्रिया